काठमाडौं– आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको संख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
दैनिक १४ हजारभन्दा बढीले काठमाडौंस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । ‘निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ,’ उनले भने ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले याुत्रको भीडभाड बढेको हो । यात्रुको संख्या बढेपछि दसैं तिहारमा जस्तै एयरलाइन्सको बिजनेस पनि बढेको छ ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताए । उनका अनुसार निर्वाचनको अघिल्ला दिन मंसिर १, २ र ३ गते तथा मतदानपछि मंसिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ ।
‘निर्वाचनअघिका तीन दिन र निर्वाचनपछिका दुई दिन हवाई उडानमा अध्यधिक चाप हुनेछ, अहिले निर्वाचनको संघारमा पनि उडानका यात्रु बढेका छन्,’ प्रवक्ता शर्माले भने ।
निजी क्षेत्रका बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ ।
बुध्द एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजंग पाण्डेले पछिल्ला दिनमा उडान चाप बढेको बताए । उनका अनुसार अहिले बुध्द एयरका उडानमा औसत अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ ।
‘अहिले सामान्य अवस्थामाभन्दा केही यात्रुको संख्या बढेको छ, आगामी शुक्रबार र शनिबार संख्या अझ बढ्ने देखिएको छ,’ उनले भने, ‘यी दुई दिनका लागि बुकिङ पनि बढेको छ ।’
बुध्द एयरले हाल दैनिक १ सय ५० उडानमार्फत ७ हजार ५ सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीसँग ७२ सिट क्षमताका ११ र ४५ सिट क्षमताका तीन गरी १४ एटिआर र दुई बिचक्राफ्ट गरी१६ जहाज छन् ।









