काठमाडौं– कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थमा ७२ सिट क्षमताको एटिआर–७२ जहाजले परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ ।

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौंबाट सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो । सुर्खेत विमानस्थलमा सफल परीक्षण उडान भएको र उक्त उडानको प्रतिवेदनपछि आगामी जनवरीदेखि नियमित उडान गर्ने बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजंग पाण्डेले बताए । कम्पनीले अहिले ४७ सिट क्षमताको एटिआर–४२ जहाजमार्फत सुर्खेतमा दैनिक एक उडान गर्दै आएको छ ।

सुर्खेत विमानस्थलमा ठूला जहाजमार्फत हुने उडानले कर्णाली प्रदेशको समग्र पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । एटिआर जहाजमार्फत काठमाडौँ–सुर्खेत सफल परीक्षण उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सुर्खेत विमानस्थलमा एटिआर जहाजको उडान हुने बित्तिकै उक्त गन्तव्यको हवाई भाडा सस्तो हुनाका साथै यात्रुलाई सहज हुने विश्वास व्यक्त गरे ।

हाल काठमाडौंदेखि सुर्खेतसम्मको हवाई भाडा १४ हजारसम्म रहेको छ । ठूलो जहाजले उडान सञ्चालन गरेपछि उक्त गन्तव्यमा आधाजस्तो भाडा सस्तो हुने प्रवक्ता निरौलाले बताए । ठूला जहाजमार्फत उडान सञ्चालनका लागि सुर्खेत विमानस्थलको क्षमता विस्तार गरिएको प्राधिकरणले जनाएको छ ।

यसअघि कोभिड–१९ महामारी पूर्व निजी क्षेत्रको श्री एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको थियो । कोभिडका कारण पछि उक्त गन्तव्यमा उडान हुन सकेको थिएन । बजारको अवस्था हेरेर छिट्टै सुर्खेत गन्तव्यमा उडान सञ्चालनको योजना रहेको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले बताए ।

बुद्ध एयरको नियमित उडानपश्चात् निजी क्षेत्रको यती एयरको एटिआर जहाजले पनि उडान भर्ने प्राधिकरणले जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले परीक्षण उडान सफल भएपश्चात् सुर्खेतमा एटिआर जहाजले उडान गर्ने योजना रहेको बताउनुभयो । यती एयरलाइन्ससँग छ थान एटिआर जहाज छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय