काठमाडौं– नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्यांक लिन अध्ययन सुरु गरेको छ । बोर्डले विदेशी पर्यटकको औसत खर्चदर पत्ता लगाउने उद्देश्यले आजदेखि सर्वेक्षण सुरु गरेको हो । बोर्डका निर्देशक मणिराज लामिछानेले विदेशी पर्यटकले नेपालमा कति खर्च गर्छन् भनेर यकिन तथ्यांक निकाल्ने लक्ष्यका साथ अध्ययन सुरु गरिएको जानकारी दिएका हुन् ।

‘दुई हजार नमुना संकलन गरिनेछ । बोर्डबाट खटिने पाँच कर्मचारीले हरेक दिन १० वटा प्रश्नको फाराम भरेर ४० दिनभित्र यो काम सक्नेछन्,’ उनले भने । बोर्डको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का विद्यार्थी यो अध्ययनमा संलग्न छन् ।

नेपालमा विदेशी पर्यटकले कति खर्च गर्छन् भन्ने यकिन तथ्यांक निकाल्न यो अध्ययनले सहयोग पुग्ने निर्देशक लामिछानेले बताए । उनका अनुसार सन् २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ अमेरिकी डलर खर्च गरेको पाइएको छ । सन् २०२२ मा पनि सोही हाराहारीमा पर्यटकले खर्च गर्ने गरेका छन् । सन् २०२३ मा यो दर बढेर ७० देखि ७५ डलर पुग्ने निर्देशक लामिछानेको भनाइ थियो ।

उनले ‘टुरिज्म स्याटेलाइट अकाउन्ट’को प्रमुख टुलका रूपमा आजदेखि अध्ययन सुरु गरिएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय तथ्यांक कार्यालय र नाथमको सहकार्यमा पर्यटकको खर्चसम्बन्धी अध्ययन सुरु गरिएको हो ।

पछिल्ला दिनमा विदेशी पर्यटक आउने क्रम बढेको छ । बोर्डको तथ्यांकअनुसार सन् २०२३ को जनवरीमा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने गएको वर्ष ६ लाख १४ हजार १४८ विदेशी पर्यटक भित्रिएका थिए । कोभिड–१९ महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ विदेशी पर्यटक आएकामा सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्या ८१ प्रतिशतले कमी आई २ लाख ३० हजार ८५ जनामा खुम्चिएको थियो । त्यसैगरी २०२१ मा भने १ लाख ५० हजार १६२ पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय