
काठमाडौं– सन् २०२३ को दोस्रो महिना फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार वर्षको दोस्रो महिना हवाई मार्गबाट ७३ हजार २५५ पर्यटक नेपाल आएका छन् । जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
फेब्रुअरीको आगमनले कोरोना महामारीपछि बिथोलिएको पर्यटक आगमन लयमा फर्किएको संकेत गरेको छ । अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६ पर्यटकको नेपाल आएका थिए । सन् २०२१ को सोही महिनामा ९ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहबर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । फेब्रुअरीमा भारतबाट १८ हजार ४०१ पर्यटक आएका छन् । अमेरिकाबाट ७ हजार ८८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
त्यस्तै, थाइल्यान्डबाट ४ हजार ८०२, दक्षिण कोरियाबाट ३ हजार २४६, अस्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार ११७ र जर्मनीबाट २ हजार १०८ पर्यटक नेपाल भित्रिएका छन् ।
पछिल्लो तथ्यांकले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै बढी पर्यटक आएको देखाउँछ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको संख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष ६ लाख १४ हजार १४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए ।
तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्या ८१ प्रतिशतले घटेर २ लाख ३० हजार ८५ मा सीमित भएको थियो । त्यसैगरी २०२१ मा १ लाख ५० हजार ९ सय ६२ पर्यटक नेपाल आएका थिए ।