काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम शृंखलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि शानदार जित हासिल गरेको छ ।

नेपालले न्युगिनीलाई ५२ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर २ सय ९७ रन बनायो ।

जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रनमा सीमित बन्यो ।

जितसँगै नेपालले ३३ खेलमा ३४ अंक जोडेको छ । नेपाल अंक तालिकाको पाँचौं स्थानमा छ । समान ३३ खेल खेलको पपुवा न्यूगिनी ९ अंकका साथ अंक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालका लागि ओपन आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरे । खेलमा आशिफ शेखले सर्वाधिक ११० रन बनाए । कुल ११० बल खेलेका उनले २ छक्का र १२ चौका प्रहार गरे । आजको खेलमा म्यान अफ द म्याचको उपाधि आशिफले पाएका छन् ।

आशिफको यो पहिलो एक दिवसीय शतक हो । उनी एक दिवसीयमा खेलमा शतक प्रहार गर्ने नेपालका लागि पाँचौं खेलाडी बने । यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् ।

शतकसँगै आशिफले एक दिवसीय खेलमा एक हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने उनी नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एक दिवसीयमा एक हजार रन पूरा गरेका थिए ।

साथै नेपालका लागि ब्याटर कुशल भुर्तेलले ४५ रन, भिम सार्कीले ४४ रन, रोहित पौडेलले ३० रन बनाए । साथै आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन र दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछोनले सात र सोमपाल कामीले चार र कुशल मल्लले दुई रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीको सुरुवात राम्रो रह्यो । पहिलो विकेट ११ दशमलव दुई ओभरमा ७७ रनमा झरेको थियो । पपुवा न्यूगिनीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाए भने ओपनर टोनी उराले ५० रन बनाए । साथै असाद भालाले ४२, रिले हेकुरेले २० रनको योगदान गरे । नेपालको जितमा सन्दीप लामिछानेले चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई र कुशल मल्लले एक विकेट लिए ।

विभिन्न सात राष्ट्र सहभागी यस सिरिजमा नेपालले अब तीन खेल खेल्न बाँकी छ । पपुवा न्युगिनीसँगको एक र युएईसँगको दुई खेलमा विजयी भए नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछ ।

लिगका सबै खेल खेलिसकेको स्कटल्यान्ड ५० अंकका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ । बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् । यी तीन टोलीमध्ये एक टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् ।

नामिबिया ३६ खेलमा ३९ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित चौथो स्थानमा छ । कुल ३२ खेल खेलेको युएइ ३१ अंकका साथ छैटौ स्थानमा छ । नेपालले जारी शृंखलाको आफनो दोस्रो खेल यही फागुन २८ गते युएईसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय