काठमाडौं– युवा तथा खेलकुद मन्त्रालय मातहत रहेका प्राथमिकता प्राप्त ६ योजनामध्ये दुईवटाको वार्षिक प्रगति ५० प्रतिशतभन्दा न्यून रहेको छ । मन्त्रालयको वार्षिक प्रगति समीक्षामा राष्ट्रिय युवा परिचालन र खेलकुद विकास कार्यक्रमको प्रभावकारिता र औचित्य नदेखिएको तथा अर्थ मन्त्रालयबाट बजेट रोकिएपछि प्रगति ५० प्रतिशतभन्दा कम भएको जानकारी दिइयो । मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रममध्ये राष्ट्रिय युवा परिचालन कार्यक्रमको ४८ दशमलव ८ र खेलकुद विकास कार्यक्रमको प्रगति ३१ दशमलव ५६ छ ।

नेपाल स्काउट ८० दशमलव ३२, राष्ट्रिय खेलकुद परिषद् ६९ दशमलव ३७, राष्ट्रिय युवा परिषद् ९२ दशमलव १८ र युवा तथा साना व्यवसायी स्वरोजगार कोष ८८ दशमलव २२ प्रगति रहेको आँकडा प्रस्तुत गरियो ।

उक्त मन्त्रालय मातहत राष्ट्रिय गौरव तथा रुपान्तरणकारी आयोजना भने छैनन् । नीतिगत निर्णय हुन नसकेका कारण बेरुजु फर्स्योटमा समस्या देखिएका कारण उक्त अवधिमा बेरुजु कार्यसमेत प्रभावित भएको उल्लेख छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम भने कोषको रुकम १ अर्ब ४१ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरी १२ हजार ३६ हजार जनालाई स्वरोजगार तुल्याउन सफल भएको उल्लेख छ । युवा तथा साना व्यवसायी स्वरोजगारतर्फ संगठन सरचना केन्द्रमा मात्र भएकाले कर्जा लगानी, अनुगमन र असुली कार्यमा कठिनाइ भएको तथा एउटै व्यक्तिलाई थप कर्जा लगानी गर्न कानुनी समस्या भएकाले व्यवसायलाई दिगोपन दिन चुनौती भएको उल्लेख छ ।

गत आर्थिक वर्षमा स्वरोेजगारका लागि सञ्चालन गरिएका व्यवसायमा थप १० हजारले रोजगार प्राप्त गरेको, २ करोड ३ लाख ९६ हजार प्रिमियम भुक्तानी गरी १० हजार १३० को व्यावसायिक र व्यवसायको बीमा गरेको जानकारी दिइयो । सहकारीलाई ब्याज अनुदान दिने, अनुगमन गर्ने तथा नेपाल स्काउट तालिम र विद्यार्थीलाई स्काउटका पोसाक वितरण कार्यमा भने लक्ष्य प्राप्त गरेको तथ्यांक छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा निर्माण कार्य प्रारम्भ भएको मैदान लागि छुट्याइएको २२ करोड रुपैयाँ खर्च नभएको तथा कीर्तिपुर मैदानका लागि जडान गर्ने भनिएको लाइटसम्बन्धी ठेक्का रद्द हुनुजस्ता कार्यले पुँजीगत खर्च प्रभावित भएको बताइएको छ ।
आव २०७९–८० मा मन्त्रालयका पुँजीगततर्फ भौतिक प्रगति ३६ दशमलव ६३, वित्तीय प्रगति २७ दशमलव ३१ तथा चालुतर्फ भौतिक प्रगति ८५ दशमलव २ र वित्तीय प्रगति ७७ दशमलव ६४ रहेको तथ्यांक प्रस्तुत गरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय