काठमाडौं– कामना सेवा विकास बैंकले स्थापनाको १६ वर्ष पुरा गरी १७ वर्षमा प्रवेश गरेको अवसरमा शनिवार विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । जसअन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

पुरुषतर्फको फाइनल खेलमा बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउँदै उपाधि जितेको छ । त्यसै गरी महिलातर्फको फाइनल खेलमा माछापुछ्रे बैंकले आयोजक कामना सेवालाई २–० ले हराउँदै उपाधि जितेको छ ।

कामना सेवाले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । विजेता तथा उपविजेता टिमलाई बैंकको तर्फबाट ट्रफी, मेडल, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, प्रमुख सञ्चालन अधिकृत विकास ढुंगाना र एन्फा रेफ्री नारायण अधिकारीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, बैंकले बुटवल क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुषालले बताए ।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमअन्तर्गत बैंकको कोशी प्रदेशले धरान उपमहानगरपालिकामा श्रमदान गरेको छ । धरान उपमहानगरपालिकाले कोकाह खोलादेखि धरानसम्म पानी ल्याई रिचार्ज गर्नको लागि निर्माण गर्न लागिएको रिचार्ज ट्यांकी निर्माण कार्यको लागि श्रमदान गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ । उक्त श्रमदान कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको समेत उपस्थिति रहेको बैंकका कोशी प्रदेश प्रमुख मोहनदत्त खनालले जानकारी दिएका छन् ।

बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ । बैंकले गत शुक्रबारदेखि विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । आगामी बिहीबारसम्म बैंकले कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय