काठमाडौं– केन्द्रीय तथ्यांक विभागले मुलुकको कुल घरेलु उत्पादन (जिडिपी) गणनाको आधार वर्ष परिवर्तन गरेको छ । यसअघि आधार वर्ष २०५७/५८ (सन् २०००/०१) रहेकोमा त्यसलाई २०६७/६८ (सन् २०१०/११) कायम गरेको हो ।

विभागले बिहीबार एक पत्रकार सम्मेलन गरी जिडिपी मापनको आधार वर्ष परिवर्तन गरेको जानकारी दिएको हो । सो क्रममा विभागले अर्थतन्त्रको पछिल्लो अवस्थासम्बन्धी तथ्यांक पनि सार्वजनिक गरेको छ ।

नयाँ आधार वर्ष अनुसार गणना गर्दा नेपाली अर्थतन्त्रको आकार ३९.४३ खर्ब रुपैयाँ बराबर पुगेको छ । साबिकको आधार अनुसार नेपाली अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रहेको अनुमान छ ।

योसँगै नेपालीको वार्षिक प्रतिव्यक्ति आयको आकार पनि बढेको छ । आधार वर्ष २०५७/५८ (सन् २०००/२००१) अनुसार १०८५ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय परिवर्तित आधार वर्ष अनुसार ४९ डलरले बढेर ११३४ डलर पुगेको छ ।

सेवा क्षेत्रको योगदानको भार पनि ८.४ प्रतिशतले बढेको छ । कृषि (प्राथमिक) तथा द्वितीय (उत्पादन तथा प्रशोधन) क्षेत्रको भार क्रमशः ९.५ र ३.२ प्रतिशतले खुम्चिएको छ । यसबाट अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ५२.२ प्रतिशत पुगेको छ ।

साबिकको आधार वर्ष आर्थिक वर्ष २००१/०१ अनुसार अर्थतन्त्रमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको भार क्रमशः ३७.६, १४.४ र ४८ प्रतिशत रहेकामा आधार वर्ष परिवर्तनपछि यो क्रमशः ३४.०, १३.९ र ५२.२ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय