
काठमाडौं– नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० सिरिज ‘क्लिन स्विप’ गरेको छ। नेपालले टी–२० मा पहिलो पटक सिरिज ‘क्लिन स्विप’ गरेको हो।
सोमबार बिहान अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरि क्रिकेट मैदानमा भएको अन्तिम तथा तेस्रो टी–२० मा नेपालले अमेरिकाको घरेलु टोलीलाई ८ विकेटले पराजित गरेको हो।
यसअघि नेपालले पहिलो टी–२० १७ रनले जित्दा दोस्रो टी–२० सुपरओभरमा जितेको थियो। यसबाट विश्वकप लिग २ अघि नेपालकोआत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ । क्यानडामा नेपाली टोली खराब प्रदर्शनका कारण महत्वपूर्ण अंकहरु गुमाउन बाध्य भएको थियो।
अब नेपालले आगामी २५ अक्टोबरबाट सुरु हुने विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सक्टल्यान्ड र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले २७ अक्टोबरमा अमेरिकासँग पहिलो खेल खेल्नेछ।
अन्तिम टी–२० मा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाएको थियो। अमेरिकाका लागि सैतेजा मुकामलाले ६८ रन बनाउँदा मिलिन्डा कुमारले ४३ रन बनाए। त्यस्तै एरोन जोनेसले १३ रन तथा हर्मित सिंहले १० रन बनाएका थिए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिएका थिए।
जवाफमा १५८ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालको सहज जितमा आसिफ शेखले ५० रनको अर्धशतकीय इनिङ खेल्दा कुशल मल्ल ४४ रनमा अविजित रहे भने उनलाई कुशल भुर्तेलले ४० रन बनाएर अविजित साथ दिएका थिए।
त्यसअघि ओपनर अनिल साह १३ रनमा आउट भए। अमेरिकाका लागि जुनायो ड्रयसडाली र जसदिप सिंहले समान १/१ विकेट लिए।