काठमाडौं– रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म करिब १७ करोड रुपैयाँ खर्च गरेको जनाएको छ ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले एसएसपी, संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जर्गेना, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन वृद्धिलगायत कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।

कोरियन कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह लगायतका संरचनाहरु निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।

२०७२ सालको विनाशकारी भूकम्पबाट नराम्ररी प्रभावित भएको आयोजना क्षेत्रमा कम्पनीले भूकम्पपीडितलाई राहत सामग्री वितरण तथा अस्थायी आवास निर्माण, विद्यालय एवं स्वास्थ्य संस्थाहरुको भवन निर्माण, हेलिकोप्टरमार्फत उद्धार, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरेको थियो ।

आयोजना प्रभावित आदिवासी जनजाति समुदायसँग नेपालमै पहिलोपटक स्वतन्त्र, अग्रिम, सुसूचित सहमति लागू गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आदिवासी समुदायको थातथलो, वातावरण र उनीहरुको सांस्कृतिक विशेषतालाई ध्यान दिएर छुट्टै आदिवासी समुदाय योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । उक्त योजनामार्फत समुदाय आफैंले छनोट गरेका कार्यक्रम सञ्चालन गर्न छुट्टै बजेट व्यवस्था गरिएको छ । यसमार्फत हालसम्म साढे २ करोड रुपैयाँ खर्च भइसकेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले आयोजना प्रभावितको आर्थिक तथा सामाजिक अवस्थामा सुधार, रोजगारी एवं जीविकोपार्जन, त्यस क्षेत्रको विकास जस्ता विषयलाई विशेष ध्यान दिएर सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गरिएको बताए । आयोजनाले स्थानीय बासिन्दाहरुको माग बमोजिम प्राथमिकतामा आधारमा योजनाहरु छनोट गरी सहयोग कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै उनले यसलाई निरन्तर रुपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

आयोजनाले हाकुबेसीमा त्रिशूली नदीमा बेली ब्रिज निर्माण गर्न ७ करोड ८६ लाख १४ हजार रुपैयाँ खर्च गरेको छ । पुल निर्माणपछि आमाछोदिङ्मो गाउँपालिका १ र २ नम्बर वडास्थित हाकु क्षेत्रका बासिन्दा सडकको पहुँचमा पुगी मुख्य रुपमा सदरमुकाम धुन्चे, नुवाकोट र काठमाडौंतर्फ आवतजावत गर्न सजिलो भएको छ । उक्त पुल आयोजना निर्माण कार्यका लागि आवतजावत गर्न पनि प्रयोगमा ल्याइएको छ । प्रभावित क्षेत्रमा सडक निर्माणका लागि १८ लाख ५७ हजार र खर्च गरिएको छ । यसका अतिरिक्त धुन्चे खोलडोल सडक निर्माणका लागि थप ७० लाख रुपैयाँ खर्च गरिएको छ ।

प्रभावित क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण, शैक्षिक सामाग्रीलगायतका वितरण गरिएको छ । साथै, हाकुस्थित तीनवटा विद्यालय प्रत्येकलाई १÷१ जना शिक्षक सन् २०१८ देखि उपलब्ध गराइएको छ । आयोजनाले त्यस क्षेत्रका आदिवासी जनजातिको सांस्कृतिक रितिरिवाज संरक्षण र प्रवर्द्धनका लागि गुम्बालगायतका भवन निर्माण र अन्य कार्यक्रमहरुमा सहयोग गर्दै आएको छ ।

आयोजना प्रभावितहरुको जीविकोपार्जन पुनर्स्थापना तथा आयआर्जन वृद्धिका लागि आयोजना प्रभावित घरपरिवारका १२१ जनालाई तालिम दिइएको छ । कोरियन तथा जापानिज भाषा, ड्राइभिङ (हलुका र हेभी), इलेक्ट्रिसियन, वेल्डिङ, टेलरिङ, मोटरसाइकल मर्मत, ब्युटी पार्लरलगायतका सीपमूलक व्यावसायिक तालिम उपलब्ध गराइएको छ । यसका लागि ८१ लाख ४३ हजार रुपैयाँ खर्च गरिएको छ ।

आयोजना निर्माणमा हाल करिब १ हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब ४०० रसुवा जिल्लाका स्थानीय छन् । त्यसमध्ये आयोजना प्रभावित घरपरिवारका १५४ जना छन् । आयोजना निर्माण अवधि (५ वर्ष)मा ८००–१००० जना नेपाली श्रमिकले दैनिक रुपमा रोजगारी पाउने छन् ।
आयोजनाको मुख्य निर्माण २०७८ पुसबाट सुरु गरिएको थियो । भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरुको निर्माण सबैतिरबाट तिब्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति ५२ प्रतिशत रहेको छ ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले कार्य गरिरहेको छ । आयोजनाको

प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी (इक्विटी) रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय