
काठमाडौं– सानिमा बैंक लिमिटेड र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट पिएलसी बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौताअनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ । यस साझेदारीले सानिमा बैंकको ट्रेड फाइनान्स सर्भिसलाई महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले उक्त सम्झौतामा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । यस साझेदारीले नेपालकोे ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो ऊर्जा स्रोतहरू परिचालन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताइएको छ ।
यो प्रयास जिवाष्म इन्धनमा निर्भरता कम गर्ने र जलवायु परिवर्तनसँग लड्ने विश्वव्यापी प्रयासहरूमा केन्द्रित छ । सानिमा बैंकले स्वच्छ ऊर्जा परियोजनाहरूलाई प्रवर्धन गरी स्थानीय समुदायका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको बताइएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२६ वटा एटिएममार्फत सेवा दिइरहेको छ ।