चितवन– उच्च शिक्षा अध्ययनका लागि पोखरा पुगेका अर्घाखाँचीका ओमप्रकाश पाण्डेलाई अहिले पर्यटन व्यवसाय फलिफाप भएको छ । पर्यटकीय सहर पोखरामा ‘कमाउँदै–पढ्दै’ गर्ने क्रममा २०४५ सालमा होटलबाट काम सुरु गरेका पाण्डे स्थापित पर्यटन व्यवसायी बन्न सफल भएका छन् ।

पोखरास्थित होटलको आंशिक रोजगारीबाट यस क्षेत्रमा प्रवेश गरेका उनी अहिले ६ वटा होटलको मालिक र सबैको प्रेरणाका स्रोत बनेका छन् । पोखराका होटल तथा ट्राभल एजेन्सीमा काम गरेको ज्ञान, सीप, अनुभव र सम्पर्कलाई सदुपयोग गर्दै अघि बढेका पाण्डेले अहिले यस क्षेत्रमा धेरै जनालाई रोजगारी दिएका छन् ।

२०२२ सालमा जन्मेका पाण्डेले अर्घाखाँचीस्थित स्थानीय विद्यालयमा १० कक्षासम्म पढे । त्यसपछि उच्च शिक्षा अध्ययनका क्रममा पृथ्वीनारायण क्याम्पस, पोखरा पुगेका उनले विज्ञानमा स्नातकसम्म अध्ययन गरे ।

विद्यार्थीकालमा होटलमा तीन वर्ष काम गर्दाको अनुभवले उनी आत्मविश्वासका साथ यस क्षेत्रमा आकर्षित भएबो बताउँछन्। सुरुमा १ लाख ५० हजार रुपैयाँ लिएर पोखरामा भाडामा होटल सञ्चालन गर्न थालेका उनले विभिन्न आरोहअवरोहबीच चार वटा होटल चलाए । कहिले कमाइ गरे त कहिले गुमाए। उनी भन्छन्, ‘होटल चलाउँदै गर्दा पहिला किनेको घडेरी बेचेर ऋण पनि तिर्नुपर्यो । पछिल्लो होटलले राम्रै कमाइ गर्यो भने ट्राभल एजेन्सीबाट पनि मनग्गे नाफा भयो ।’

भाडामा होटल चलाउँदै आएका पाण्डेले २०६२ सालमा केही नगद र बैंक ऋण गरेर पोखराको लेकसाइडमा होटल ल्यान्डमार्क किने । जम्मा १ करोड ५० लाख र बैंकको ऋणमा किनेको २३ कोठे उक्त होटललाई विस्तार गर्दै अहिले १०० कोठाको चार तारे होटलमा स्तरोन्नति गरिएको छ

होटल व्यवसायतर्फको उनको यात्रा निरन्तर अघि बढिरह्यो, यसै क्रममा पर्यटकीयस्थल चितवनको सौराहामा पनि २०६७ सालमा जग्गा किनेर होटल निर्माण गरी आफ्नो व्यवसायलाई थप विस्तार गरे । सौराहामा २०७१ सालदेखि ७५ कोठाको ल्यान्डमार्क होटल सञ्चालन गर्दै आएका पाण्डेको अहिले काठमाडौं, दरबारमार्गमा पनि ल्यान्डमार्क होटल सञ्चालनमा छ ।

क्षेत्रीय होटल संघ, सौराहाका उपाध्यक्ष गुणराज थपलिया पाण्डे आफैं साहु र कामदारको भूमिकामा रमाउन सकेकाले यस व्यवसायमा सफल भएको बताउँछन् । उनी भन्छन्, ‘अहिले पनि उहाँको सिंगो परिवार तनमनका साथ काममा खटेकै देखिन्छ, इमानका साथ निरन्तर खटे सफल भइन्छ भन्ने यथार्थलाई कर्मले प्रमाणित गर्नुभएको छ ।’

निरन्तरको संघर्षका कारण पाण्डे सफल व्यवसायी बनेको भन्दै उपाध्यक्ष थपलिया एउटै बाबुका छोरा–बुहारी, नाति–नातिना सबै मिलेर पेसाप्रति समर्पित हुनु उदाहरणीय काम भएको ठान्छन् ।

पाण्डेले गत वर्षबाट भैरहवाको एक होटलको व्यवस्थापन हेर्दै आएका छन् । यसै महिनाबाट भरतपुरको होटल रोयल सेञ्चुरी भाडामा लिएर नारायणी ल्यान्डमार्कको नामबाट र तनहुँको देवघाटमा अर्को होटल भाडामा लिएर ल्यान्डमार्क फार्म हाउस नामबाट सञ्चालन गरेका छन् ।

वीरगन्ज, जनकपुर र नगरकोटमा पनि सकभर होटल सञ्चालन गर्ने त्यो सम्भव नभए व्यवस्थापन हेर्ने गरी छलफल अघि बढिरहेको उनले बताए । पर्यटन व्यवसायी पाण्डेले सञ्चालन गरेका होटलहरुमा अहिले ३५० कोठा क्षमता छ भने झन्डै ५०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष रहेका पाण्डे यसअघि संघको उपाध्यक्ष थिए।

परिवारका सदस्यहरूलाई सँगै लिएर यस क्षेत्रमा होमिएका पाण्डेका तीन दाजुभाइ होटल व्यवसायमा सँगै छन् । तीन दाजुभाइका तीन छोरा पनि प्रत्यक्षरुपमा यही व्यवसायमा जोडिएका छन् ।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको पर्यटन व्यवसायको प्रवर्द्धन रोजगारी सिर्जना र समाज सेवाका क्षेत्रमा पर्यटन व्यवसायी पाण्डेको अतुलनीय योगदान रहेको बताए ।

स्थानीय होटल व्यवसायीका अनुसार गाउँको सामान्य परिवारमा जन्मेका पाण्डे दृढ इच्छाशक्ति भएका, सदैव सकारात्मक सोच राख्ने, श्रमलाई सम्मान गर्ने, स्वप्नद्रष्टा एवं कर्मशील पर्यटन व्यवसायी हुन् । मुलुकको पर्यटन व्यवसायमा समर्पित पाण्डेको पर्यटन प्रवर्द्धनमा अतुलनीय योगदान रहको होटल संघ सौराहाले जनाएको छ ।

परिश्रमलाई सम्मान गर्ने, निरन्तरको कर्म, दृढ इच्छाशक्ति, व्यावसायिक घरानामा जन्म नभए पनि अनुभव बटुल्दै निरन्तरको सङ्घर्षबाट पाण्डे सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । होटल व्यवसायमा उतारचढाव आइरहने र निष्ठाका साथ लागि रहे सफल भइने पाण्डे बताउँछन् । उनले भने, ‘व्यवसायमा आजको आजै मुनाफा हुँदैन, कुर्न सक्नुपर्छ ।’ (नारायण अधिकारी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय