काठमाडौं– स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ १६ देखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको जानकारी दिएकी छिन् ।
उनले बोर्डको बढ्दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको बताइन् ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले बोर्डमा ३६ वटा निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जानकारी दिए। उनका अनुसार ५०५ स्वास्थ्य संस्थामध्ये ४४२ सरकारी र २७ सामुदायिक स्वास्थ्य संस्था बीमा बोर्डमा आबद्ध छन् ।
उनले बोर्डको संकट टार्न तत्कालका लागि निजी स्वास्थ्य संस्थामा बीमा कार्यक्रम स्थगित गरिएको बताए ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच परिवारसम्मका लागि ३ हजार ५०० रुपैयाँ बराबरको योगदानका आधारमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ ।
यस्तै थप प्रतिसदस्य ७०० रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार बराबरको सुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बिमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ बीमित छन् ।









