सिड्नी- अस्ट्रेलियामा आर्थिक मन्दी (रिसेसन) आउने जोखिम बढ्दै गएको भन्दै वित्तीय सेवा तथा लगानी बैंकिङ समूह म्याक्वेरीले चेतावनी दिएको छ । समूहका अनुसार मुलुकमा आर्थिक मन्दीको जोखिम करीब ५० प्रतिशत नजिक पुगेको छ ।

म्याक्वेरी समूहका प्रमुख अर्थशास्त्री तथा बृहत् रणनीति प्रमुख रिक डेभरेलले अस्ट्रेलियाको अर्थतन्त्रको गति कमजोर हुँदै गएको संकेत देखिएको बताए । उनका अनुसार व्यवसायीहरूको कमजोर मनोबल र आर्थिक गतिविधिमा आएको सुस्तीले सन् २०२६ को अन्तिम त्रैमासिकमा अर्थतन्त्र संकुचित हुन सक्ने सम्भावना देखाएको छ ।

डेभरेलले अस्ट्रेलियाका विभिन्न व्यावसायिक सर्वेक्षणहरूले आर्थिक गतिविधिमा उल्लेखनीय सुस्ती आएको संकेत गरिरहेको बताए । यद्यपि म्याक्वेरीको आन्तरिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुमानअनुसार चौथो त्रैमासिकमा अर्थतन्त्र संकुचित हुने सम्भावना कम देखिए पनि त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्न नसकिने उनको भनाइ छ ।

म्याक्वेरीका अनुसार उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र बेरोजगारीमा भइरहेको वृद्धिका कारण घरपरिवारहरू एकैपटक आर्थिक दबाबमा परेका छन् । यी परिस्थितिले अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम बढाएको समूहको विश्लेषण छ ।

यसअघि एचएसबीसीका अस्ट्रेलिया तथा न्युजिल्यान्डका प्रमुख अर्थशास्त्री पल ब्लक्सहमले पनि आगामी केही त्रैमासिक अवधिमा अष्ट्रेलियाको आर्थिक वृद्धि ठप्प हुन सक्ने प्रक्षेपण गरेका थिए । उनले समेत आर्थिक मन्दीको सम्भावना ५० प्रतिशत रहेको बताएका थिए ।

सोमबार संघीय संसद्मा अर्थतन्त्रसम्बन्धी धारणा प्रस्तुत गर्दै अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले मुद्रास्फीति र उच्च ब्याजदरका कारण आगामी दुई वर्षसम्म वार्षिक जीडीपी वृद्धि दुई प्रतिशतभन्दा निकै तल झर्न सक्ने बताए ।

यद्यपि, कोषाध्यक्ष र केन्द्रीय बैंक दुवैले अर्थतन्त्र ऋणात्मक दिशामा जाने अर्थात् संकुचन हुने अपेक्षा नगरेको उनले स्पष्ट पारे ।

चाल्मर्सले सन् २०२६ अस्ट्रेलियाका नागरिक, अर्थतन्त्र र विश्व समुदायका लागि निकै कठिन वर्ष रहेको उल्लेख गर्दै आगामी दिनमा परिस्थिति सहज हुनुअघि थप चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

अस्ट्रेलियाको तथ्यांक विभागले बुधबार अक्टोबर महिनाको मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने तयारी गरेको छ । कोषाध्यक्ष चाल्मर्सका अनुसार इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण समग्र मुद्रास्फीति निकै उच्च रहने अर्थशास्त्रीहरूको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय