काठमाडौं– मुलुकको संघीय राजधानी काठमाडौंलाई चौबिसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गरी काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै चौबीसै घण्टा सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिएका छन् ।
राजधानीको प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई यसअघि नै २४ घण्टा खुला गरिसकिएको छ । २०८१ वैशाख १ गते तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा ती स्थानलाई २४सै सञ्चालन गरिएको थियो ।
काठमाडौं देशको अत्यन्त महत्त्वपूर्ण स्थान भएकाले जिल्लाभरि भरपर्दो सुरक्षा व्यवस्थापनसहित सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सिसीटिभी, सडक बत्तीलगायतका न्यूनतम पूर्वाधार व्यवस्थित गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
त्यस्तै यातायात, व्यवसाय, व्यापार, स्वास्थ्य क्षेत्र, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध गरी २४ घण्टा खुला गर्ने अभियानलाई रणनीतिक रूपमा अघि बढाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
काठमाडौं जिल्लाभित्र व्यापार, व्यवसाय तथा बजार क्षेत्रसमेत २४सै घण्टा सञ्चालन गर्ने विषयमा स्थानीय तह, विभिन्न निकाय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय र छलफल गरिने जनाइएको छ ।









