काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जा सहित धार्चे गाउँपलिकाका लाभग्राहीलाई हस्तान्तरण गरेका छन् । साथै उनीहरुले दाताको नाम भएको शिलापत्रको पनि अनावरण गरेका छन् ।

२०७३ वैशाख १२ गते सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघबीच त्रिपक्षीय सम्झौता भई नमूना बस्ती निर्माण सुरु भएको थियो ।

२०७२ वैशाख १२ को विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा निजी आवास निर्माण सम्पन्न भएको हो ।

बिहीबारको हस्तान्तरण समारोहमा धार्चे गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजु गुरुङले सहभागीको सम्मानमा स्वागत मन्तव्य दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नमूना बस्ती हस्तान्तरण गर्न पाएकोमा नेपाल सरकारको तर्फबाट संघ तथा सहयोगी गैरआवासीय नेपाली तथा संघ–संस्थाप्रति आभार प्रकट गरे ।

संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट बस्ती निर्माण गरी हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुसी लागेको भन्दै निर्माणभन्दा त्यसको सम्भार गर्न अझ कठिन र महत्त्वपूर्ण रहेको बताए ।

उनले बस्ती निर्माणमा सहयोग गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय, गैरआवासीय नेपाली, केयर नेपाल, नेपाली सेना, लाभग्रागी र गाउँपालिका तथा वडा कार्यालय लगायत अन्य संघ–संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष डा. शेष घले, संरक्षक तथा निवर्तमान अध्यक्ष, भवन भट्ट र सल्लाहकार जमुना गुरुङलाई विशेष धन्यवाद दिए ।

संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झण्डै ५७ करोड ६६ लाख चार हजार ८३६ रुपैयाँ लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपाली, संघसंस्था लगायत नेपाल सरकार, स्थानीय सरकार, सम्पूर्ण दाता एवं अन्य रुपमा सहयोग गर्ने सहयोगी सबैप्रति कृतज्ञता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय