काठमाडौं– चालु आर्थिक वर्ष २०७७–०७८ को नौ महिनामा मुलुकमा ११११ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरण अनुसार पोहोरको तुलनामा यसपालि आयात १३.१ प्रतिशतले बढेर ११११ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वस्तु आयात ७.५ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको छ । हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, चाँदी लगायत वस्तुको आयात घटेको छ ।

सो अवधिमा कुल वस्तु निर्यात २०.२ प्रतिशतले बढेर ९४ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः २३.५ प्रतिशत र १४.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा २७.३ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), पस्मिना लगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

निर्याततर्पm सुक्खा बन्दरगाह, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, जलेश्वर, तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७७–७८ को नौ महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले वृद्धि भई १०१६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७७ चैत महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ३.३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक ६.७ प्रतिशतले बढेको छ । २०७६ चैतमा ३.९ प्रतिशतले बढेको व्यापारको सर्त २०७७ चैतमा ३.२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय