काठमाडौं– साबिकका सिमेन्ट उद्योगीले मुलुकका लागि थप सिमेन्ट उद्योग नचाहिने र भएकै पनि धेरै भइसकेको तर्क गरिरहेका बेला नेपाल राष्ट्र बैंकको एक अध्ययनले नेपालमा वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिन सिफारिस गरेको छ ।

नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिनुपर्ने उक्त अध्ययनको निष्कर्ष छ
नेपालमा स्वदेशी र सरकारी लगानीमा सञ्चालित सिमेन्ट उद्योगको तुलनामा वैदेशिक लगानीका उद्योगले राम्रो नाफा कमाइरहेको पनि उक्त अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ ।
नेपालमा हाल सञ्चालित ५५ सिमेन्ट उद्योगमध्ये ३ प्रत्यक्ष विदेशी लगानी, २ सरकारी स्वामित्व र ५० निजी स्वामित्वका छन् । लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको बाहुल्य छ ।

राष्ट्र बैंकले नेपालमा विशेषतः प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलना, स्वदेशी माग र आपूर्ति लगायत ती उद्योगहरुको सामाजिक तथा आर्थिक प्रभाव संलग्न गरी अध्ययन गरेको जनाएको छ ।

अध्ययनले विदेशी लगानी रहेको ३, सरकारी स्वामित्व र निजी स्वामित्वको २–२ गरी ७ उद्योगलाई समेटेको छ । सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, दुईजना कर्मचारी र उद्योग वरपरका १० जना बासिन्दालाई उत्तरदाताको रुपमा चयन गरिएको जनाइएको छ ।

यस अध्ययन अनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन छ । आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन छ ।

यसैगरी, आन्तरिक रुपमा यी उद्योगबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ ।

प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत छ ।

सरकारी र निजी स्वामित्व रहेका उद्योगको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगको सञ्चालन र मुनाफा राम्रो छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ ।

मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको पनि अध्ययनले देखाएको छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सके सिमेन्ट आयातमा थप कटौती आउने देखिन्छ ।

सामाजिक–आर्थिक पाटोलाई विश्लेषण गर्दा सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना भएका छन् । उद्योग वरिपरि रहेका जमिनको मूल्य वृद्धिका कारण वेल्थ इफेक्ट लगायत सकारात्मक प्रभावहरु परेको भए तापनि वातावरणीय प्रदूषणसम्बन्धी नकारात्मक असर पनि परेको छ । अतः सिमेन्ट उद्योगलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुका साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरुप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नु आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय