काठमाडौं– नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी सोही राति १२ः०० बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो ।

दुई दिनअघि मात्रै आन्तरिक उडानको हवाई इन्धन मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको निगमले अन्तर्राष्ट्रियको घटाएको हो ।

आइतबार बसेको निगम सञ्चालक समितिले कोभिडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।

आइतबारसम्म निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ४० प्रतिशत नाफा थियो । यसअघि निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ७० प्रतिशतसम्म नाफा रहेको निगमका प्रवक्ता वितीतमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार कोरोनाको एक वर्षको अवधिमा हवाई इन्धनबाट निगमलाई पाक्षिक (१५ दिनको अवधिमा) रुपमा एक करोड ५० लाख नाफा भएको छ ।

निगमलाई खाना पकाउने एलपी ग्यासबाट पाक्षिक रुपमा अनुमानित रुपमा ५० करोड नोक्सान रहेको छ । एपली ग्यासको नोक्सानी निगमले हवाई इन्धनबाट परिपूर्ति गर्दै आएको थियो । निगमको इन्धन मूल्य निर्धारण नीतिअनुसार एलपी ग्यासको नोक्सानीलाई अन्तर्राष्ट्रिय हवाई इन्धनको नाफाबाट परिपूर्ति गर्ने व्यवस्था रहेको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा कमी आएसँगै हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ । मूल्यमा कमी आएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई हवाई इन्धनबाट मात्र वार्षिक रुपमा ७० करोडभन्दा बढी रकम बचत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय