काठमाडौं– चालु आर्थिक वर्षको १० महिनामा नेपालमा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांक नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.३ प्रतिशतले बढी हो ।

पोहोर भने अघिल्लो वर्षको १० महिनाको तुलनामा वस्तु आयात १३.० प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार यही अवधिमा १०८ अर्ब ४८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३२.२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ४.५ प्रतिशतले बढेको थियो । नेपालको वस्तु निर्यात खर्बभन्दा माथि पुगेको यो पहिलोपटक हो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ३५.८ र २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्पmको निर्यातमा १८.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलंैचा लगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायत वस्तुको घटेको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९.८ प्रतिशत, १७.२ प्रतिशत र ६.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, चाँदी लगायत वस्तुको आयात घटेको छ ।

चालु आवको १० महिनामा कुल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भई ११४५ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो । अहिले निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८.० प्रतिशत थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय