काठमाडौं– नेपाल धितोपत्र बोर्डले दोस्रो बजारको प्रारम्भिक सेयर कारोबार सत्र (प्री–ओपनिङ सेसन)को कारोबारमा दुई प्रतिशतभन्दा बढी मूल्य तलमाथि गर्न नपाइने व्यवस्था गरेको छ ।
पुँजी बजारको नियामक निकाय बोर्डले नियमित कारोबार हुनुअघिको सत्रमा हुने कारोबारमा मूल्य घटबढको सीमा घटाएको बिहीबार प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । हालसम्म प्री– ओपनिङको मूल्य घटबढ सीमा पाँच प्रतिशत थियो ।
त्यस्तै, बोर्डले दोस्रो बजारमा कारोबार हुँदाको मूल्य परिवर्तन सीमालाई पनि घटाएको छ । नयाँ व्यवस्थासँगै बोर्डले नियमित समयमा कारोबार हुँदाको मूल्य परिवर्तन सीमा घटाएर १० पैसा कायम गरेको छ । जुन अहिलेसम्म न्यूनतम मूल्य परिवर्तन सीमा एक रूपैयाँ थियो । १० पैसामा मात्रै घटबढ गरेर अर्डर राख्न पाउने व्यवस्थाले पुँजी बजारलाई थप प्रतिस्पर्धी बनाउने बोर्डको विश्वास छ ।
बोर्डका अधिकारीहरूले प्री–ओपनको नयाँ व्यवस्थाले उक्त समयको कारोबार व्यवस्थित हुने अपेक्षा गरेका छन् । कारोबार व्यवस्थित हुँदा सूचीकृत कम्पनीको सेयर मूल्यमा भइरहेको अस्वाभाविक उतारचढाव नियन्त्रण र गलत फाइदा लिने प्रवृत्ति निरुत्साहित हुने धेरैको अपेक्षा छ ।









