काठमाडौं– कोरोना महामारीको दोस्रो लहर रोक्ने उद्देश्यको निषेधाज्ञासँगै बन्द भएको आन्तरिक उडान बिहीबारबाट पुनः सुर भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार आन्तरिक वायुसेवा कम्पनीले दैनिक ६४ उडान गर्नेछन् । सरकारले वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो ।

वैशाख १६ देखि लागू हुने गरी निषेधाज्ञा जारी भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोकिएको हो ।

अहिलेको संक्रमण स्थिति मूल्यांकन गर्दै विमानस्थलमा भीडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि गरेको उडान संख्याको आधा उडान १० मिनेटको अन्तरालमा सञ्चालन गर्नेछन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन–तीन उडान स्वीकृति दिइएको छ ।

विमानस्थलले कोभिड–१९ महामारीको हालको जोखिम स्थितिलाई ध्यानमा दिई यात्रुको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्यसम्बन्धी मापदण्ड र प्रोटोकल प्रभावकारी रूपमा पालना गराउनेछ । यसका लागि सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ ।

आन्तरिक वायुसेवा प्रदायक कम्पनीहरुले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्दै संक्रमणरहित उडानमा जुटेको जनाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक क्यानलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय