काठमाडौं– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला भएको दुई दिनमा करिब १० लाखले आवेदन दिएका छन् । असार १८ गते दोस्रो दिन बिहान साढे १० बजेसम्ममा नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको हो ।
क्यापिटलका अनुसार उक्त आवेदनबाट एक करोड ३३ लाख ४७ हजार २२० कित्ता सेयर माग भएको छ । यो संस्थाले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर संख्याको तुलनामा ३९.६७ गुणा बढी हो । संस्थाले सर्वसाधारणका लागि तीन लाख ३६ हजार ४९२ कित्ता सेयर निष्कासन गरेको छ । बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
तीन करोड ८९ लाख बराबरको आइपिओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए । उनका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण सेयर बिक्री खुला भएको छ ।
यसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानीका लागि र ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको सेयर जारी गर्न स्वीकृति दिएको थियो ।
सेयर निष्कासन गर्नको लागि इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तलाई ‘इक्राएनपी इस्युअर रेटिङ त्रिपल बि माइनस’ रेटिङ प्रदान गरेको छ । यसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । सो रेटिङको अवधि जारी मितिबाट एक वर्षसम्म हुनेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो सेयर एप (सफ्टवेयर) मार्फत समेत आइपिओमा आवेदन दिन सक्ने छन् ।









