काठमाडौं– नागरिक लगानी कोषले २६औं वार्षिक साधारणभा सम्पन्न भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७६–७७ को आम्दानी बाँडफाँड हिसाब विपवरणमा छुट्ट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ ।

कोभिड–१९ को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनको विषम परिस्थितिले सभावमा सेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सभामा कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिएका थिए । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कोषले एक खर्ब ७२ अर्ब रकम संकलन र १ खर्व ७१ अर्ब ९७ करोड लगानी गरेको जनाएको छ । यस आवमा कोषको पुँजी वृद्धि हुनुका साथै कारोबार विस्तार भई विगत देखिसञ्चालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजारसम्बन्धी सेवासमेत निरन्तर रुपमा सञ्चालन भइरहेको बताइएको छ ।

कोषको आर्थिक वर्ष २०७६–७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार छ । खुद नाफामध्ये बाँडफाँडयोग्य रकम ५५ करोड ३६ लाख ७२ हजार छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम सुरु गरेको छ ।

देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्देश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार सुरु भएको छ । कोषद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा एनएलके वेब बेस्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय