ताप्लेजुङ– सुकेटार विमास्थलमा आजदेखि नेपाल वायुसेवा निगमले नियमित उडान सुरु गरेको छ । कोभिड–१९ का कारण नियमित उडान दुई महिना बन्द भएको थियो ।

आज काठमाडौंबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले जानकारी दिएका छन् । उक्त जहाज बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौं नै फर्किएको जनाइएको छ ।

ताप्लेजुङबाट १२ यात्रु काठमाडौं जान टिकट लिएर सुकेटार विमानस्थल पुगेका थिए । मौसमका कारणले विमान अवतरण हुन नसक्दा उनीहरु फर्किएको लिम्बूले बताए ।

सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ ।

तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौं सात हजार १९० रुपैयाँ भाडा तोकिएको सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । निगमले ताप्लेजुङ–विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय