काठमाडौं– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर सयमा दुईजनाले मात्र पाउने भएका छन् । बाँकी ९८ जनाको हात खालि हुनेछ ।
कम्पनीले तीन लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्ट्याएकोमा करिब साढे २० लाखले आवेदन दिएका छन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार आवेदनका लागि तोकिएको समय सोमबार साँझ ५ः३० बजेसम्ममा २० लाख ३६ हजार २४५ आवेदन परेको छ ।
ती आवेदकले २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता सेयर माग गरेका छन् । यो माग सर्वसाधारणको लागि छुट्ट्याएको सेयर संख्या ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो ।
बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले यो कम्पनीको सेयर पाउने छन् ।
त्यस अनुसार ९८.१० प्रतिशतभन्दा धेरैले सेयर नपाउने देखिएका छन् । हालसम्म प्राप्त तथ्यांक पूर्ण नरहेकोले लघुवित्तको सेयर आवेदन गर्नेको संख्या अझै थप हुने अनुमान छ ।
लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता (०.५ प्रतिशत) कर्मचारीका लागि र ५ प्रतिशत (१९ हजार ४५० कित्ता) सामूहिक लगानी कोषका लागि छुट्ट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणलाई वितरण हुनेछ ।









