काठमाडौं– आगामी आइतबारदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा थप उडान हुने भएको छ । सरकारले यसअघि उडान खुला गरेका गन्तव्यमध्ये भारतबाहेकका मुलुकमा उडान थप गरेको हो ।

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब अन्तर्राष्ट्रिय गन्तव्यमा हप्तामा ५३ वटा यात्रुबाहक उडान हुनेछन् । अहिले चार्टर्डबाहेक सातामा दुई दर्जन अन्तर्राष्ट्रिय यात्रुबाहक उडानलाई मात्र अनुमति दिइएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार भारतको राजधानी नयाँ दिल्लीमा नेपाल एयरलाइन्सले बुधबार र एयर इन्डियाले सोमबार गरी सातामा दुई उडान मात्र हुनेछ ।

युएईको दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाई दुबइले आइतबार, बुधबार र शुक्रबार एक–एक उडान गर्ने तालिका छ ।

कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक–एक उडान गर्ने अनुमति पाएका छन् । हिमालय एयरलाइन्सले सोमबार, बुधबार र शनिबार दोहा उडानको अनुमति पाएको छ ।

साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी साताको चार उडान गर्ने अनुमति पाएको छ । मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरी सातामा दुई उडान गर्नेछ ।

त्यसैगरी, हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानबुलमा सोमबार, बिहीबार र शनिबार उडान भर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ ।

जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरी पाँच उडान गर्ने बताइएको छ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी हप्तामा तीन उडान गर्ने अनुमति पाएको छ ।

एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ । सिंगापुर एयरको जहाज हरेक आइतबार काठमाडौं आउन पाउने छ ।

सरकारले अहिले हवाई उडान खुला गरेका गन्तव्यमा थप उडान आवश्यक भए त्यसको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।

कोरोना संक्रमणको अवस्था हेरी तोकिएको तालिकामा थपघट भने हुन सक्ने प्राधिकरणको भनाइ छ । तोकिएका स्वास्थ्य मापदण्ड र आवश्यक कागजात पूरा गर्ने दायित्व सम्बन्धित वायुसेवा कम्पनीको हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय