हेटौंडा– नेपाल विद्युत् प्राधिकरणको विद्युत् वितरण शाखा हेटौंडाले शिवम् सिमेन्ट उद्योगले डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापतको दुई अर्ब ३४ करोड महसुल नतिरेको जनाएको छ ।

शिवम् सिमेन्टले विगत ६ वर्षदेखि उद्योग सञ्चालनका लागि लिएको सो विद्युत् लाइनबापतको महसुल तिर्न बाँकी रहेको बताइएको छ । उद्योगले २०७२ देखि २०७५ सालसम्म डेडिकेटेड फिडर प्रयोग गरेको र त्यसको रकम नतिरेको वितरण शाखा प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए ।

शिवम् सिमेन्टले विद्युत् महसुल तिर्न आलटाल गरेपछि सो शाखाले लाइन काटिने सूचना प्रकाशन गरेको थियो । त्यसपछि उक्त उद्योगले प्राधिकरणविरुद्ध अदालत पुगेको थियो । पाटन उच्च अदालत हेटौंडाले प्राधिकरणको पक्षमा फैसला गरेको थियो । तथापि शिवम् सिमेन्ट उद्योगले डेडिकेटेड फिडर प्रयोगबापतको महसुल बुझाउन आनाकानी गर्दै आएको प्रमुख ठाकुरको भनाइ छ ।

शिवम् सिमेन्टले प्राधिकरणलाई तिर्नुपर्ने रकम एक अर्ब २१ करोड रहे पनि हालसम्म महसुल नतिरेको कारण अहिले जरिवाना सहितको रकम दुई अर्ब ३४ करोड पुगेको हेटौंडा वितरण शाखाको लेखा शाखाले जनाएको छ ।

उद्योग व्यवस्थापनसँग महसुल बक्यौता सम्बन्धमा जानकारी लिन खोज्दा सम्पर्क हुन नसकेको राससको समाचारमा उल्लेख छ । हेटौंडा विद्युत् शाखाअन्तर्गत करिब ६० हजार विद्युत् मिटर लिने ग्राहक छन् । विद्युत् सेवा लिएबापत मासिक १८ करोड विद्युत् महसुल प्राप्त हुने गरेको बताइएको छ ।

अवैधरुपमा विद्युत् चोरी गर्ने र महसुल नतिर्नेमाथि कारवाही र निरन्तर अनुगमन भइरहेको ठाकुरले जानकरी दिए । साथै विद्युत् महसुल नबुझाउनेको लाइन काट्ने कार्य पनि जारी रहेको उनको भनाइ छ । अहिले नयाँ ट्रान्सर्फमर जडान गर्ने र पुरानो काठका पोल विस्थापित गर्ने काम उक्त शाखाबाट भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय