काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको वैदेशिक व्यापार घाटा १२६२ अर्ब ११ करोड पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २४.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार घाटा १६.४ प्रतिशतले घटेको थियो ।

यस अवधिमा १३८३ अर्ब ३६ करोडको वस्तु आयात भएको र १२१ अर्ब २५ करोड बराबरको निर्यात भएको नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकले देखाएको छ ।

चालु वर्षको ११ महिनाको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा आयात १५.३ प्रतिशतले घटेको थियो । यसपालि वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.२ प्रतिशत, २४.० प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ ।

यस अवधिमा निर्यात–आयात अनुपात ८.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो ।

यो ११ महिनामा कुल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई १२१ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी गलैंचा लगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायत वस्तुको निर्यात घटेको छ ।

आयाततर्फ यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, दूर सञ्चारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयात बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय