काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । साउन १ गतेदेखि कर नतिरी भित्र्याइका मोबाइल फोन चल्न नदिने सरकारको नीति अनुसार प्राधिकरणले उक्त प्रणाली जडान गरेको हो ।

प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडिएमएस) जडान गरेको हो । लामो समयको तयारीपछि आज उक्त प्रणाली जडान गरिएको हो । प्राधिकरणले मोबाइल सेटको आयात पूर्वअनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आइएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै मोबालल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएको जनाएको छ ।

अब सिमकार्ड हाल्नुअघि प्राधिकरणमा आइएमइआई नम्बर दर्ता नगरेका फोन चल्ने छैनन् । अहिले सिमकार्ड चलिरहेका फोनको हकमा भने नयाँ प्रणालीले केही फरक पर्दैन ।

प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै एमडिएमएस सिस्टम लागू भए पनि हाल सञ्चालनमा रहेका मोबाइल फोन सञ्चालनमा कुनै अवरोध नहुने जनाएको छ । ‘पहिलो चरणमा व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आइएमइआई रजिस्ट्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको छ, उक्त प्रणालीलाई क्रमशः पूर्णरुपमा लागू गरी मोबाइलको आयात एवं प्रयोगलाई थप व्यवस्थित, भरपर्दाे र सुरक्षित बनाइनेछ,’ सूचनामा भनिएको छ ।

एमडिएम प्रणालीले कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्नबाट रोक्छ । एमडिएमएसको सफ्टवेयर तथा हार्डवेयर राख्न प्राधिकरणले चाबहिलमा भवन निर्माण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय