काठमाडौं– राजधानीमा कुखुराको मासुको भाउ प्रतिकिलो ४१५ रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा कुखुरा मासुको मूल्य किलोमा एक सय रुपैयाँ बढेको छ ।
कोरोना महामारी रोक्ने उद्देश्यले वैशाख दोस्रो सातादेखि देशभर सुरु गरिएको निषेधाज्ञाका कारण किसान डराएर खोरमा चल्ला नहाल्दा अहिले ब्रोइलर उत्पादन घटेर भाउ बढेको हो ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसी निषेधाज्ञा भएपछि कुखुरापालकहरु चल्ला हाल्न डराएकोले त्यसको असर अहिले बजारमा देखिएको बताउँछन् । उनका अनुसार कोल्डस्टोरले कुखुराको मासु किलोको ३ सय ८० देखि चार सय रुपैयाँसम्ममा बेचेका छन् । काठमाडौं उपत्यकामा खुद्रा बिक्रेताले शनिबार किलोको चार सय १५ रुपैयाँमा बिक्री गरेका थिए । काठमाडौंमा जिउँदो कुखुरा किलोको दुई सय ८० रुपैयाँमा बिक्री भएको छ ।

निषेधाज्ञा खुकुलो हुँदै जाँदा होटल रेस्टुरेन्टहरु खुल्न थालेका छन्, जसले गर्दा मासुको खपत बढेको छ । तर माग अनुसार उत्पादन छैन । अनि भाउ अकासिएको हो । मासुको मूल्यवृद्धिमा चल्ला र दानाको मूल्यवृद्धिले पनि काम गरेको कुखुरापालक बताउँछन् ।

किसान भने कुखुरा मासुको मूल्य वृद्धि हुनुमा ह्याचरी उद्योग र बिचौलियाको हात रहेको बताउँछन् । नेपाल कुखुरापालक किसान संघको केन्द्रीय अध्यक्ष झलक पौडेलले ह्याचरी उद्योग र बिचौलियाको मिलेमतोमा भाउ बढाएको बताए ।

चितवन लगायत तराईका किसानले जिउँदो कुखुरा किलोको दुई सय ४० र उपत्यकाका किसानले दुई सय ६० रुपैयाँमा बेचिरहेको पौडेलले बताए । ‘जिउँदो कुखुरा दुई सय ६० मा बिक्री हुँदा मासुको मूल्य तीन सय ६० रुपैयाँ हुनुपर्ने हो,’ उनी भन्छन्, ‘मिलेमतोमा चार सय रुपैयाँभन्दा माथि पुर्याइएको छ ।’ उपभोक्ताले धेरै मूल्य तिर्नु परे पनि किसानले उचित मूल्य नपाएको उनले गुनासो गरे । चल्ला र दानाको मूल्यवृद्धिले पनि मासुको भाउ बढाउन मदत गरेको पौडेल बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय