काठमाडौं– आर्थिक वर्ष २०७८–०७९ को पहिलो दिन सेयर बजारमा उत्साहजनक प्रगति देखापरेको छ । आइतबार सुरुदेखिनै तीव्र गतिले उकालो लागेको बजारमा त्यो गति अन्तिमसम्म कायम रहँदा सेयर बजारको परिसूचक नेप्से ९७ बिन्दुले उकालो लागेको छ ।

यसले लगानीकर्तामा सेयर बजारप्रति निकै उत्साह बढेको संकेत गरेको छ । आइतबारको कारोबारले केही दिन सुस्ताएको बजार पुरानै लयमा आउने संकेत गरेको छ । आइतबारको कारोबारमा दुईथरी पुँजीगत लाभकर लागे पनि त्यसले बजारमा नकारात्मक असर गरेन ।

आर्थिक वर्ष २०७८–०७९ को बजेटमार्फत ल्याइएको ५ र ७.५ प्रतिशतको पुँजीगत लाभकर साउन १ गतेबाट लागू हुने कानुनी व्यवस्था भए पनि शुक्रबार र शनिबार सेयर कारोबार नहुने हुँदा आजबाटै कार्यान्वयन भएको हो । अब उप्रान्त किनेको ३६५ दिनभन्दा अगावै सेयर बिक्री गर्दा पुँजीगत लाभकर ७.५ प्रतिशत लाग्छ । ३६५ दिनपछि बिक्री गर्दा भने ५ प्रतिशत मात्रै लाभकर लाग्छ ।

यस दिन दुई सय २१ सूचीकृत कम्पनीका २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रुपैयाँ छ ।

आइतबार बजार बन्द हुँदा सेयर बजार सूचक नेप्से २९८०.७१ बिन्दुमा पुगेको छ । यस दिन पाँचवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । तीन कम्पनीमा हिमालयन पावर पार्टनर, सिंगटी हाइड्रो, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर लिमिटेड र समृद्धि फाइनान्स छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय