काठमाडौं– मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । संस्थाले थोरै संख्यामा सेयर निष्कासन गर्न लागेकोले जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले पाउने देखिएको छ ।

संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर जारी गर्न लागेको हो । उक्त ३ लाख ९३ हजार ७५० कित्तामध्ये ०.५ प्रतिशत (५ हजार ४६९ कित्ता) कर्मचारीलाई र ५ प्रतिशत (१९ हजार ६८८ कित्ता) सामूहिक लागनी कोषहरुले पाउनेछन् । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणमा बाँडफाँट हुनेछ ।

प्रचलित नियम अनुसार एकजना आवेदकलाई कम्तीमा १० कित्ता सेयर दिनुपर्ने हुँदा उक्त सेयर ३६ हजार ८५९ जनालाई १०–१० कित्ताका दरले बाँड्दा ३ लाख ६८ हजार ५९० कित्ता सकिन्छ । बाँकी तीन कित्ता १० कित्ता पाइसकेकामध्ये ३ जनालाई गोलाप्रथाबाट १–१ कित्ता वितरण हुनेछ ।

मानुषीले जारी पुँजीको ३६ प्रतिशत प्राथमिक सेयर निष्कासन गर्न लागेको हो । संस्थाले उक्त सेयरको निष्कासनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

प्राथमिक सेयर निष्कासन लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले यो संस्थालाई केयर एनपी बि प्लस इस्युअर रेटिङ दिएको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सवालमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पुँजी ७ करोड रुपैयाँ छ । सर्वसाधारणमा सेयर बाँडफाँटपछि चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय