काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र चारजना सरकारी कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङ जिल्लामा निर्माणाधीन सडक खण्डमा बदमासी गरेको भन्दै सिंह, तत्कालीन कार्यालय प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले सोमबार पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना, धुलिखेलका तत्कालीन कार्यालय प्रमुख विजय चापागाईंसहित पाँचजनालाई ६८ लाख बिगोसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले योजनाका तत्कालीन इन्जिनियर दिपककुमार खड्का, सब–इन्जिनियर गजेन्द्रप्रसाद राउत र महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहविरुद्ध ६८ लाख ९३ हजार बिगोसहित विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको जनाएको छ । त्यसैगरी, आयोगले लेखा अधिकृत दुर्णप्रसाद फुयालविरुद्ध २१ लाख ४९ हजार बिगोसहित मुद्दा दायर गरेको छ ।

आयोगले मध्यपहाडी आयोजनाका खोटाङका कार्यालय प्रमुख, इन्जिनियर, सब–इन्जिनियर तथा ठेकेदार कम्पनी सञ्चालकको मिलेमतोमा ६८ लाख ९३ हजार रुपैयाँ हिनामिना गरेको जनाएको ।

आयोगले निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी हुनुपर्नेभन्दा फरक व्यहोराको भेरिएसन पेस गरेको आरोप लगाएको छ । सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराई, इस्टिमेट विपरीत बिनानिर्णय फिल्डमा काम गराई फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारी एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम गरेको आरोपपत्रमा उल्लेख छ ।

आयोगले एउटा ठेक्काबाट डिपिआर अनुसारको इस्टिमेट तयार भई भएको काम अर्थवर्कको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई बिल तयार पारी भुक्तानी लिने, दिने कार्य गरी ६८ लाख ९३ हजार हिनामिना तथा हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको देखिन आएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं ३५ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय