काठमाडौं– भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारीका लागि कोरिया जान नपाएका श्रमिकलाई कोरिया पठाउने प्रक्रिया चाँडै सुरु हुने नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चो सुकले बताएका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार भएको भेटमा राजदूत पार्कले उक्त जानकारी गराएका हुन् ।

भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका युवालाई जाने वातावरण बनाइदिन आग्रह गरेका थिए । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरेका थिए ।

‘इपिएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवा त्यसै बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु,’ भेटमा मन्त्री शर्माले भने ।
राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए । नेपालीहरुको मेहनत र इमानदारीबाट कोरियाली रोजगारदाता खुसी रहेको प्रसंग उल्लेख गर्दै राजदूतले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।

अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत् लगायत क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ । कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिबासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना हुँदैछ ।

मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताए । राजदूतले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइ बारे चासो राखेका थिए । आयोजनामा ढिलाइ हुँदा लागत बढ्न जानेतर्फ उनले चिन्ता व्यक्त गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय