विराटनगर– स्वदेशी वस्तुको उपभोग बढाई देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्याउने लक्ष्य लिई उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सुरु गरेको मेरो देश, मेरै उत्पादनको अभियानलाई जनस्तरसम्म पुर्याउन दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिबद्धतापत्र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई बुधबार हस्तान्तरण गरी दोस्रो चरणको जागरण अभियान सुरु गरिएको छ ।

सो अवसरमा मेरो पहिलो रोजाई स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पूरा गर्दछु, म आफ्ना छिमेकी, साथी–भाइ, इष्ट–मित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु, उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवर्द्धनमा सधै लागिपर्नेछु भन्ने चारबुँदे प्रतिबद्धता अंकित नेपाली कागजमा तयार गरिएको पेपर स्टेन्ड दुवै संस्थाका तर्फबाट प्रदान गरिएको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई निमोनिक लोगो फ्रेम र चारबुँदे प्रतिबद्धता उल्लेखित नेपाली कागजमा तयार गरिएको पेपर स्टेन्ड प्रदान गर्दै संगठनका सुयश प्याकुरेलले स्वदेशी उत्पादनको प्रवर्द्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पुर्याउने लक्ष्यका साथ संगठन र संघले राष्ट्रव्यापी रुपमा २०७७ चैत १३ गते तत्कालीन प्रधानमन्त्रीबाट मेरो देश, मेरै उत्पादन प्रारम्भ गरिएको अभियानलाई जनस्तरसम्म पुर्याउन दोस्रो चरण सुरु गरिएको बताए ।

उनले दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादन नै प्रयोगमा ल्याउन अनुरोध गर्दै यस अभियानलाई सार्थक बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण र बढ्दो व्यापार घाटालाई न्यूनीरण गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

संघका अध्यक्ष प्रकाश मुन्दडाले स्वदेशी उद्योगको संरक्षण एवं प्रवर्द्धनका लागि सरकारले सार्वजनिक खरिद ऐनमा समेत स्वदेशी वस्तु खरिदलाई प्राथमिकता दिई सोही अनुरुपको व्यवस्था गर्न आग्रह गरे । उनले व्यापार घाटा न्यूनीकरण गरी सन्तुलनमा ल्याउनुका साथै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको यस अभियानलाई प्रदेश सरकारले आफ्नै अभियानको रुपमा लिनुपर्ने धारणा राखे ।

दुवै संस्थाको तर्फबाट संयूक्त रुपमा प्रदान गरिएको निमोनिक लोगो र चारबुँदे प्रतिबद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेन्ड लिँदै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संगठन र संघले सुरु गरेको यस अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । यस अभियानको कार्यान्वयनमा साथ र सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

त्यसैगरी, प्रदेश नं १ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले कृषिको सबलीकरणका साथै कृषि र उद्योग क्षेत्रको सन्तुलित विकासले समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउने भएकाले यस अभियानलाई अत्यन्त सकारात्मक रुपमा लिएको बताए । प्रदेश नं. १ को सामाजिक विकास मन्त्री उषाकला राईले स्वदेशी उद्योगको प्रोत्साहनका एवं स्वदेशी वस्तुको प्रयोगमा यस अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे । सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेको पनि उपस्थिति थियो ।

निमोनिक लोगो र चारबुँदे प्रतिबद्धता अंकित नेपाली कागजमा तयार गरिएको पेपर स्टेन्ड प्रदेश नं. १ का प्रमुख सचिव सुमनराज अर्याल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव निरु दाहाल पाण्डे, सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईलाई पनि हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा संघका निवर्तमान अध्यक्ष पवन शारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल संगठनका उपाध्यक्ष नन्दकिशोर राठी, संघका उपाध्यक्ष अनुपम राठी, संगठनका कोषाध्यक्ष विपिन काबराको समेत सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय