काठमाडौं– मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको प्राथमिक सेयर निष्कासन (आइपिओ) को लागि आवेदन खुलेको छ । कम्पनी प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर बिक्री गर्न आवेदन खुलाएको हो । कम्पनीलाई धितोपत्र बोर्डले गत असार २३ गते आइपिओ अनुमति दिएको थियो ।

निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत (१४ हजार ७२६ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (३६ हजार ८१४ कित्ता) सामूहिक लगानी कोषलाई छुट्ट्याइएको कम्पनीले जनाएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारण आवेदकले पाउने छन् ।

कम्पनीले आफ्नो सेयरको सार्वजनिक निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ । मैलुङ खोलाको आइपिओमा साउन १४ देखि छिटोमा साउन १८ र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन पाइन्छ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीको सूचनामा उल्लेख छ ।

कम्पनीले स्थानीय बासिन्दालाई यसअघि नै १० प्रतिशत सेयर बिक्री गरिसकेको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

आइपिओका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डी इस्युअर रेटिङ दिएको छ । यसको अर्थ कम्पनीले वित्तीय दायित्व पूरा नगरेको वा छिट्टै पूरा गर्न नसक्ने जनाउँछ ।

यो कम्पनीले रसुवा जिल्लामा ५ मेगावाट जडित क्षमताको जलविद्युत् आयोजना आयोजना निर्माण गरी २०७१ को असारदेखि बिजुली उत्पादन गरिरहेको छ । डिम्याट खाता भएका सर्वसाधारणले मेरो सेयर, डिम्याट खातामा लिंक गरिएको आफ्नो खाता भएको बैंक, एनआइसी एसिया बैंकमा डिम्याट खाता हुनेको हकमा सो बैंकको मोबाइल बैंकिङमार्फत उक्त आइपिओमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय