काठमाडौं– पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिनाअघिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७–७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्यांक अनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणको तथ्यांक अनुसार वैशाख मसान्तसम्म ७६ लाख ९७ हजार ८६३ जना फोरजीका प्रयोगकर्ता रहेकामा जेठमा ७६ लाख ६४ हजार ४५९ मा ओर्लेको छ । गत वैशाखकोे तुलनामा जेठमा ३३ हजार ५०४ जनाले कमी आएको छ ।

नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीनमध्ये सबैभन्दा धेरै ग्राहक एनसेलको छ । १० महिनामा सो कम्पनीका फोरजीका ग्राहक ४८ लाख पाँच हजार पुगेको छ । गत चैतमा ५० लाख १७ हजार १७० रहेको जनाइएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले २१ हजारभन्दा बढी फोरजी प्रयोगकर्ता थपेको छ । वैशाखसम्म टेलिकमसँग २६ लाख ८६ हजार प्रयोगकर्ता रहेकामा जेठ महिनामा २७ लाख सात हजार ४२९ पुर्याएको प्राधिकरणले जनाएको छ ।

यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ५१ हजार ७१५ पुगेको छ । गत वैशाखसम्म स्मार्टका प्रयोगकर्ता दुई लाख ६ हजार ३९३ जना थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक छन् ।

९१ प्रतिशत जनताको पहुँचमा इन्टरनेट
नेपालमा ९१ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुुगेको पाइएको छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले कुल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार जेठसम्म दुई करोड ७७ लाख छ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत वैशाख महिनाको तुलनामा जेठमा तीन लाख ३१ हजार ४२२ बढी प्रयोगकर्ता थपिएका हुन् । गत वैशाखमा दुई करोड ७३ लाख ७५ हजार बढी प्रयोगकर्ता थिए । उक्त तथ्यांक अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । जेठसम्म मोबाइल इन्टरनेटको हिस्सा ६५.६८ प्रतिशत छ ।

एक करोड २० लाख ५२ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । यसमा सबैभन्दा धेरै टेलिकमको ९५ लाख ९० हजार र एनसेलको २४ लाख ६२ हजार रहेको जनाइएको छ । गत वैशाखमा एक करोड १९ लाख ५६ हजार प्रयोगकर्ता रहेकामा जेठमा करिब ९६ हजार बढी थ्रिजी प्रयोेगकर्ता थपिएका छन् । फिक्स ब्रोडब्यान्डको हिस्सा २५.२७ प्रतिशत रहेको छ । यसमा एडिएसएलका सात लाख ८५ हजार र एफटिटिएच इन्टरनेट पाँच लाख ५६ हजारभन्दा बढी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय