सुर्खेत– यहाँका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहत माग गरेका छन् । होटल व्यवसायी संघ सुर्खेतले आज कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटल व्यवसायलाई उकास्न राहतको माग गरेका हुन् ।
कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको संघका अध्यक्ष गारख रावतले जानकारी दिए । ‘विगत दुई वर्षदेखि हामी थला परेका छौं, राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ, तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन,’ उनले भने ।
कोरोना महामारीको यस्तो अवस्थामा खोप पनि दिन कञ्जुस्याइँ गरिरहेको भन्दै अध्यक्ष रावतले व्यवसायीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए ।
उनका अनुसार सुर्खेतमा मात्र एक हजार २५० होटलमा पाँच हजार कर्मचारी छन् । कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने मागसमेत गरिएको उनले जानकारी गराए ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले होटल व्यवसायीका मागप्रति सरकार गम्भीर रहेको बताए । व्यवसायीको मागपत्र बुझ्दै मन्त्री बुढाक्षेत्रीले कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकाले प्रदेश सरकारले यसलाई माथि उकास्ने खालका कार्यक्रम ल्याउने जानकारी दिए ।
कोभिड–१९ विरुद्धको खोप होटल व्यवसायीलाई पनि लगाउन मन्त्रालयले पहल गर्नेे पनि उनले बताए । ‘अहिले हाम्रो प्राथमिकता भनेको नागरिकको स्वास्थ्य हो, त्यसैले सबै नागरिकलाई खोप लगाउने लक्ष्य छ, सोहीअनुसार स्वास्थ्यकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक, सफाइकर्मी र शिक्षकलाई खोप लगाउने काम भइरहेको छ,’ उनले भने ।
होटल व्यवसायी र यहाँ काम गर्ने कर्मचारी पनि कोरोनाको जोखिम हुने भएकाले केन्द्र सरकारसँग समन्वय गरी खोप लगाउन प्रदेश सरकारले आवश्यक पहल गर्ने जानकारी दिए ।









