काठमाडौं– नेपाल घरेलु तथा साना उद्योग महासंघले मोरङ जिल्लाका तीन स्थानीय तहसँग महिला तथा युवालक्षित कार्यक्रम गर्न सम्झौता गरेको छ । राजधानीमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलबारी नगरपालिका, केराबारी नगरपालिका र पथरी शनिश्चरे गाउँपालिकासँग महिला तथा युवालक्षित कार्यक्रम गर्न सम्झौता गरेको हो । सम्झौतामा स्थानीय तहसँग मिलेर महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप बिजनेसको विकास र प्रवर्द्धनका लागि सहकार्य गर्ने सर्त छ ।

यो सम्झौतासँगै स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी महिला तथा युवाले उद्योग स्थापना गर्न, व्यवसाय गर्न महासंघ र स्थानीय तहले सघाउने छन् । युवा उद्यमीलाई सघाउन र प्रोत्साहित गर्न महासंघले विशेषज्ञ सेवा दिने र स्थानीय तहले आफ्नो कार्यक्रम अनुसार बजेट तथा सेवा उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।
महासंघसँग रहेको ज्ञान, अनुभव, सीपलाई साटासाट गर्दै त्यसलाई अझ बढी व्यवस्थित गर्दै उद्यमशीलता विकासका साथै पालिकाहरुलाई आत्मनिर्भर पालिका बनाउने लक्ष्यका साथै अगाडि बढ्ने महासंघले जनाएको छ ।

आफ्नो भूगोलभिका जनताको जीवनस्तर उकास्नु र आत्मनिर्भर बनाउनु पालिकाहरुको कर्तव्य हो भन्दै महासंघका अध्यक्ष श्याम गिरीले महासंघको अभियानको उद्देश्य महासंघसँग रहेका उद्यमशीलता विज्ञलाई पालिकासँग जोड्नु, उद्यमशीलता र औद्योगिकीकरणमा सघाउनु रहेको बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई र महासंघका अध्यक्ष श्याम गिरीबीच हस्ताक्षर भएको थियो । केराबारी गाउँपालिकासँग पनि हस्ताक्षर गर्ने कार्यक्रम राखिएकामा अध्यक्ष रोहितकुमार कार्की मन्त्रालयको कामको व्यस्तताले उपस्थित हुन नसकेपछि उनीहरु उपयुक्त समयमा सम्झोता गर्ने सल्लाह भएको महासंघले जनाएको छ ।

स्थानीय तहसँगको सहमति अनुसार ती नगर वा गाउँपालिका र महासंघले आ–आफूसँग भएको स्रोत, साधन र क्षमताको अधिकतम प्रयोग गर्दै उद्यमशीलता विकास गरी स्थानीय उद्योग व्यवसाय प्रवर्द्घन र स्तरोन्नति गर्ने र नविनतम सोचमा आधारित उद्यम, व्यवसायको थालनी र प्रवर्द्धन गराउने महासंघका अध्यक्ष गिरीले बताए ।

सम्झौता कार्यान्वयन गर्न महासंघको केन्द्रीय टोलीले यससम्बन्धी अवधारणापत्र सहित छिट्टै ती पालिकाहरुको भ्रमण गर्ने बताइएको छ । यी परियोजना कार्यान्वयन गर्ने मोडालिटीबारे महासंघका सम्बन्धित नगर समिति र नगर महिला उद्यमी समिति, जिल्ला समिति मोरङ र जिल्ला महिला उद्यमी समिति तथा १ नं प्रदेश प्रदेश समिति र प्रदेश महिला उद्यमी समितिसँग संयुक्त छलफल गर्नेछ ।

सम्झौता अनुसार स्टार्टअप बिजनेस गर्न चाहनेलाई सरकारले घोषणा गरेको कर्जा लगानी सहजीकरणका लागि दुवै पक्षले कार्य गर्ने भएका छन् भने महिला, युवा तथा कृषि उद्यमीका लागि सरकारले उपलब्ध गराउने घोषणा गरेको सहुलियतपूर्ण कर्जा तथा पुनकर्जा प्राप्तिका लागि दुवै पक्षले सहजीकरण गर्ने भएका छन् ।

महासंघ र नगरपालिकाले सञ्चालन गर्ने महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप बिजनेससँग सम्बन्धित कार्यक्रममा एकले अर्कोलाई अनिवार्य सहभागी गराउने छन् भने विभिन्न निकायमा यससँग सम्बन्धित आयोजना, परियोजना र कार्यक्रम प्रस्ताव गर्दा एकले अर्कोको सहभागिता र साझेदारीलाई सुनिश्चितता प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष सूर्य कँडेल, महासचिव डम्बरप्रसाद रेग्मी, सचिव प्रमिला बस्नेत, कोषाध्यक्ष सत्यनारायण प्रजापति लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय