चितवन– पछिल्लो समय महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ । सरकारले महिला उद्यमीलाई सहुलियत कर्जाको व्यवस्था गरेपछि घरेलु तथा साना उद्योग कार्यालयमा पुरुषको तुलनामा महिला उद्यमीको नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको संख्या एक हजार ४६९ छ । पुरुषको संख्या एक हजार १५२ छ ।

गत आर्थिक वर्षमा दुई हजार ३९२ नयाँ उद्योग दर्ता भएका छन् । साझेदारसमेत हुने भएकाले उद्योगको तुलनामा उद्यमीको संख्या धेरै हुन्छ । कार्यालयका लेखा अधिकृत नारायण लम्सालका अनुसार थपिएका उद्योगमा महिला र पुरुष गरी सात हजार ६५७ जनाले रोजगारी पाएका छन् । पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट थप सहुलियत उपलब्ध हुने भएकाले महिला उद्यमीको संख्या पुरुषको तुलनामा बढी भएको उनको भनाइ छ ।

कार्यालयका प्रमुख यादवनाथ आचार्यले पहिले उद्योग दर्तामा महिलालाई ५० प्रतिशत छुट हुने भए पनि हाल यो नरहेको बताए । उनले भने, ‘संघीय सरकार र पालिकाले महिलाका उद्योगलाई प्राथमिकता दिने भएसँगै उद्यमी बढेका हुन् ।’

उद्योग संघ चितवनका अध्यक्ष राजु पोडेलले सहुलियत ऋण र अनुदानका लागि धेरै उद्योग दर्ता भएको बताए । महिलाका नाममा दर्ता गरिएका २० प्रतिशत उद्योग पनि सञ्चालन नभएको जनाउँदै उनले अनुदानका लागि धेरै उद्योग दर्ता भएका अनुमान गरे । ‘राष्ट्र बैंकको कडाइपछि बैंकलाई लक्ष्य हाँसिल गर्नु छ, व्यक्तिलाई सस्तो ब्याजमा पैसा चाहिएको छ,’ उनले भने । उद्योग दर्ता गरेर लिइएको अनुदान सम्बन्धित क्षेत्रमा लगानी गर्न उनले सुझाए ।

कार्यालयमा हाल पाँच लाखदेखि पाँच करोडसम्म पुँजी भएका उद्योग दर्ता हुँदै आएका छन् । पाँच लाखभन्दा तल पुँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछन् । जिल्लामा उद्योग दर्ता हुने क्रम बढ्दो छ । कालिका नगरपालिकामा औद्योगिक क्षेत्रसमेत बनाइँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय