काठमाडौं– नेपाल धितोपत्र बोर्डका कर्मचारी विवादित अध्यक्ष भीष्मराज ढुंगानाविरुद्ध उत्रिएका छन् । उनीहरुले अध्यक्ष ढुंगानालाई कारवाही गर्न माग गरेका छन् । कर्मचारी युनियनमार्फत ढुंगानालाई कारबाही गर्न माग गरिएको हो ।

बोर्डका अध्यक्ष ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउद उनीहरुका परिवारका सदस्यले बुक बिल्डिङ प्रक्रियामार्फत साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १०–१० हजार कित्ता सेयर खरिद गरेपछि विवादमा तानिएका छन् ।

आलोचकहरुले उनीहरु दुवैले उक्त सेयर खरिद गरेको नभई गोल्डेन सेयरको रुपमा लिएको बताउँदै आएका छन् । गोल्डेन सेयर पैसा तिरेर किनेको सेयर नभई घुसको रुपमा अथवा धम्क्याएर निःशुल्क लिइने सेयर हो ।

युनियनले बोर्ड नेपालको पुँजी बजार तथा वस्तु विनिमय बजारको नियामकका रुपमा रहेको, सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको उल्लेख गर्दै त्यस्तो संस्थाको नेतृत्व गर्ने व्यक्तिको विवादास्पद सेयर खरिदले संस्थाकै बदनाम भएको भन्दै गलत काम गर्नेलाई कारवाही गरी संस्थाको गरिमा जोगाउन माग गरेको छ ।

युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नलाई तत्काल निलम्बन गर्न आग्रह गरिएको छ ।

विद्यमान कानुनका आधारमा सम्बन्धित निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबिन कार्य अगाडि बढाइ दोषीलाई हदैसम्मको कारवाही गर्न युनियनले माग गरेको छ ।

देशको कुल गार्हस्थ उत्पादन बराबरकै बजार पुँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशील र लगानीकर्ताको हित संरक्षणमा लाग्नुपर्नेमा त्यसो हुन नसकेको विज्ञप्तिमा भनिएको छ ।

अर्थ मन्त्रालयले यही साउन १३ गते बोर्डलाई तीन दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको थियो । यसको जवाफ दिने समयसीमा आजसम्म छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बुक विल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित संवेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्धप्रतिष्ठित अध्यक्ष तथा सञ्चालकका रुपमा गम्भीर विचलन भएको निष्कर्ष निकालेको छ ।’

बोर्डका अध्यक्ष ढुंगानाले छोरी रेविका ढुंगानाको नाममा निकट भविष्यमै साधारण सेयर बिक्री गर्न लागेको सर्वोत्तम सिमेन्ट कम्पनीको १० हजार कित्ता सेयर खरिद गरेको पाइएको छ ।

यस्तै, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समेत श्रीमतीको नाममा सेयर खरिद गरेको पाइएको छ । अर्थले बोर्ड र स्टक दुवैलाई स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय