काठमाडौं– नेपाली सेयर बजारको तथ्यांकीय मापक नेप्से बिहीबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार बिहीबार बजार बन्द हुँदा नेप्से ३१७९ बिन्दुमा पुगेको छ । सेयर परिसूचक नेप्से यो बिन्दुमा पुगेको पहिलोपटक हो । ३१८९ भन्दा पनि माथि पुगिसकेको परिसूचक बजार बन्द हुँदा घटेर ३१७९ कायम भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से १६.४१ बिन्दुले बढेको हो । प्रतिशतमा यो वृद्धि ०.५२ हो । सेन्सेटिभ परिसूचक ५.४६ ले बढेर ५९१.१६ बिन्दुमा पुगेको छ ।
२२५ वटा कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता सेयर खरिदबिक्री भएको बजारको कुल कारोबार रकम १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ रुपैयाँ पुगेको छ ।
कारोबार भएका १३ उपसमूहमा ७ वटा उपसमूहको सेयरमूल्य बढेको र बाँकीको घटेको छ । सबैभन्दा धेरै विकास बैंकको सूचक बढेको छ ।
विकास बैंक र फाइनान्सलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आउन लागेको हल्ला चलेपछि लगानीकर्ताको त्यस्ता कम्पनीको सेयरमा आकर्षित भएका हुन् ।
बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोसी परेको छ । यस दिन ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी र रूरू जलविद्युत मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यीमध्ये जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, महालक्ष्मी विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, रूरू जलविद्युत् र माउन्टेन इनर्जीको मूल्य पनि १०–१० प्रतिशतले बढेको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।









