काठमाडौं– राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोना महामारीबीच चारतारे होटल सञ्चालनमा आएको छ । डालिया इभेस्टमेन्ट कम्पनी र गैरआवासीय नेपाली संघ (एनआरएनए)को लगानीमा ‘रमदा इन्कोर बाई वाइनहेम काठमाडौं’ सञ्चालनमा आएको हो । उक्त होटल अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो । यो होटल नेपाल भ्रमण वर्ष २०२० को सुरुतिरै सञ्चालनमा ल्याउने गरी तयारी थालिए पनि कोरोनाका कारण एक वर्ष ढिला भएको हो ।

मध्यम वर्गदेखि उच्च घरानिया वर्गलाई लक्षित गरी सञ्चालनमा आएको उक्त होटल विश्वमा नौ हजार २०० भन्दा बढी छन् । रमदा इन्कोरको भारतमा ५२ र चीनमा एक हजार ४०० भन्दा बढी चेन होटल छन् । विश्वका ८० देशमा रमदा इन्कोर बाई वाइनहेमका तीनतारेदेखि पाँचतारे होटल सञ्चालनमा छन् । नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न जाने गरेका छन् ।

होटलका सञ्चालक एवं डालिया इभेस्टमेन्ट कम्पनीका अध्यक्ष गोपाल पंगेनीले रमदा होटल अन्तर्राष्ट्रिय ब्रान्डको चेन होटल भएको बताउँछन् । ‘रमदा होटल चाँडै नै चितवनको सौराहामा पनि सञ्चालन गर्दैछौं,’ पंगेनीले भने । काठमाडौँ महानगरपालिका–१६ ठमेलमा ९० कोठा रहेको उक्त नौ तले होटलभित्र दुइवटा रेस्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल छन् । होटलको छतबाट काठमाडौं उपत्यकाको दृश्य देख्न सकिन्छ ।

होटलका महाप्रबन्धक महेश फुयाल रमदा होटलले दुईवटा रेस्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खानेकुरा उपलब्ध गराइरहेको बताउँछन् । ‘एउटा रेस्टुराँमार्फत स्पेनिस, अरबिक, टर्किस, मोरक्कन र अर्को रेस्टुराँमार्फत पानेसियन र इन्डियन लगायत खाना पस्केका छौं,’ उनले भने ।

रमदा होटलले क्याटरिङ र बैंकेट हल थप गरेर चाँडै नै पाँचतारे स्तरमा जाने लक्ष्य लिएको महाप्रबन्धक फुयालको भनाइ छ ।

यो होटल दुई अर्ब ५० करोड लगानीमा तयार भएको बताइएको छ । अब निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको संख्या नेपालमा १४३ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको संख्या हो । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६, चारतारे १९, तीनतारे ३३, दुई तारे ४१ र एकतारे ३४ होटल सञ्चालनमा छन् । यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय