काठमाडौं– चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि बन्द रहेको केबलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो ।

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसके पनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केवलकार सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘आठजना अट्ने केबलकारमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै चारजनासम्म आवतजावत गर्ने गरी केवलकार सञ्चालनमा ल्याएका छौं,’ उनले भने ।

१०० कोठा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा अहिले दैनिक ४० देखि ५० कोठा पाहुनाले भरिँदै आएका छन् । थानकोटदेखि चन्द्रागिरिसम्म केबलकारको दुरी साढे दुई किलोमिटर छ ।

गत वर्ष झण्डै ६ महिना बन्द रहेको केबलकार यो वर्ष झण्डै चार महिना बन्द रह्यो । काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने चन्द्रागिरिमा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुका साथै भालेश्वर महादेवको मन्दिरसमेत निर्माण गरिएको छ ।

मन्दिरको अलावा तीनतले भ्यू टावरसमेत बनाइएको छ । चन्द्रागिरि हिल्ससम्म जान आउनका लागि ७०० लिइँदै आएको छ । चन्द्रागिरि केबलकारमा हाल १५० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय