पोखरा– बुद्ध एयरले राजधानी पर्यटकीय नगरी पोखराबाट प्रदेश २ को सिमरासम्म सिधा उडान गर्ने भएको छ ।पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने जनाएको छ ।

यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट सिधा उडान विस्तार गरेको कम्पनीले केही साता अगाडि नेपालगन्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो ।

देशको महत्त्वपूर्ण व्यापारिक केन्द्र वीरगन्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्ष्य गरी कम्पनीले सिमराबाट सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । सुरुमा साताको तीन दिन (आइतबार, बुधबार र शुक्रबार) उडान भर्ने कम्पनीको योजना छ । यात्रुको चाप बढे दैनिक उडान भर्ने योजना छ । पोखराबाट–सिमरा १२ः२० र सिमराबाट–पोखराको उडान १३ः१५ बजे तोकिएको छ ।

प्रादेशिक उडानले दुवै ठाउँको पर्यटकीय स्थलमा चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार सिमरा÷वीरगन्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यमा चहलपहल बढ्नेछन् । वीरगन्ज देशकै ठूलो औद्योगिक करिडोर भएकाले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सिमरा/वीरगन्जका बासिन्दाले पनि पर्यटकीय सहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल शृंखलाको आनन्द लिन सक्नेछन् । यस उडानबाट वीरगन्जनजिक रहेका भारतीय सहर पटना, दरभंगा, मुजफ्फरपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि होलिडे प्याकेज ल्याएको छ । सिमरा–पोखरा प्याकेजका लागि १०,९९९ मा दुई रात तीन दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थल गाडी सुविधा, वातानुकूलित ट्विन सेयरिङ रुम र बिहानको ब्रेकफास्ट समावेश छ । बुद्ध एयरसँग एटिआर–७२ जहाज १० वटा, एटिआर–४२ जहाज तीन र बीचक्राफ्ट दुईवटा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय