मनकामना– कोभिड–१९ को दोस्रो लहरका कारण तीन महिनादेखि बन्द केबलकार सञ्चालन गर्न स्थानीयले मनकामना दर्शन प्रालिलाई दबाब दिएका छन् ।

बर्खाले सडक बिग्रिएर आवतजावतमा समस्या भएको भन्दै उनीहरुले केबलकार सञ्चालन गर्न दबाब दिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले जानकारी दिए ।

गोरखा, चितवन, तनहुँ लगायत जिल्लामा जारी निषेधाज्ञा खुकुलो भए भदौ तेस्रो साताबाट केबलकार सञ्चालन गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।

‘अहिले निषेधाज्ञा केही खुलेको छ, अझै खुल्यो भने भदौको २० पछि चलाउने योजना छ, शेरचनले भने । गत वैशाख १६ गतेदेखि केबलकार बन्द छ । त्यसयता १० करोडभन्दा बढी घाटा लागेको कम्पनीको भनाइ छ ।

अहिले गोरखामा जोर–बिजोर सवारी साधन चलाइएको, चितवनमा पनि सातामा तीनबार मात्र बजार खोल्न दिइएको लगायत कारणले भदौ २० सम्म नखोल्ने उनले बताए । ‘त्यसपछि कोभिडको अवस्था, प्रशासनको योजना अनुसार हामी अघि बढ्छौं,’ उनले भने ।

मनकामना दर्शनका अनुसार वैशाखदेखि असारसम्म केबलकारमा भक्तजन धेरै आउँथे । अहिले पनि दैनिक एक हजार मानिस केबलकार चढ्न आउने सिजन हो । केबलकारमा एक सय ५० जनाले रोजगारी पाएका छन् । कोभिड १९ को पहिलो लहरका बेला ९ महिना बन्द केबलकार अहिले तीन महिनादेखि बन्द छ ।

मनकामना मन्दिरमा दर्शन गर्न जाने भक्तजन र स्थानीयले केबलकार प्रयोग गर्छन् । पृथ्वी राजमार्गको कुरिनटार र गोरखाको मनकामना जोड्ने केबलकार २०५५ मंसिरबाट सञ्चालनमा आएको हो । कोभिड १९ का कारण स्थापना भएदेखि सबैभन्दा लामो समय उद्योग बन्द भएको प्रालिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय