काठमाडौं– देशभरका पर्यटन व्यवसायीले सरकारले कोभिड–१९ प्रभावित पर्यटन क्षेत्रको माग तत्काल सम्बोधन नगरे अर्को हप्ताबाट कडा रुपमा सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

पर्यटन सम्बद्ध संस्था र व्यक्तिहरुको संयुक्त बैठकले विभिन्न पाँचबुँदे निर्णय गर्दै सडक आन्दोलनमा जाने चेतावनी दिएको हो ।

कोभिड–१९ महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको तर सरकारी बेवास्ताका कारण पर्यटन क्षेत्र अस्तव्यस्त बनेको उनीहरुको निष्कर्ष छ । यही परिस्थितिबारे छलफल गर्न नाट्टाको आयोजनामा पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरु र पर्यटनसम्बद्ध व्यक्तिहरुको बैठक बसेको हो । बैठकमा पर्यटन व्यवसायीका संस्था नाट्टा, टान, हान, नारा, सोट्टो, एनटिभिए, टिबान, पाटा, नाटो, एनएमए लगायत संस्थाहरुको अध्यक्ष तथा उपाध्यक्षहरुको सहभागिता रहेको थियो । बैठकले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन नराखी ‘अन अराइभल भिसा’मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन माग गरेको छ । यसका लागि भारतसँगको सीमा नाका तत्काल खोल्नुपर्ने र नेपाल सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्री भिसा तुरुन्तै लागू गर्नुपर्ने उनीहरुको माग छ ।

बैठकले सिसिएमसीको सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको कोभिड १९ परिस्थति अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने माग पनि अघि सारेको छ ।

पर्यटन क्षेत्र लगायत अन्य क्षेत्रहरुको माग सम्बोधनका लागि व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघसँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको छ ।

अन्तर्राष्ट्रिय जगतमा ट्राभल एडभाइजरीमा नेपाललाई ‘रेड जोन’मा राखिएको हुँदा सो रेड जोन हटाउन नेपाल सरकारका नेपालमा पर्यटनकर्मीलाई पूर्ण रुपमा कोभिडविरुद्धको खोप लगाइसकेको र कोभिड खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्वाध रुपमा आउन दिई क्वारेन्टाइन हटाइएको अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसार गरेमात्र ट्राभल एडभाइजरी रेड जोनबाट सुरक्षित जोनका रुपमा विश्व बजारमा सुरक्षित रहने सन्देश जाने भएकाले अविलम्ब सोको व्यवस्था मिलाउन बैठकमा सहभागी संस्थाहरुले माग गरेका छन् ।

बैठकमा अच्युत गुरागाईं–अध्यक्ष नाट्टा, खुमबहादुर सुवेदी–अध्यक्ष टान, सन्तवीर लामा–अध्यक्ष एनएमए, विनायक शाह–वरिष्ठ उपाध्यक्ष हान, गंगाप्रसाद नेपाल–अध्यक्ष नारा, नारायण पराजुली–अध्यक्ष सोट्टो नेपाल, ईश्वर शर्मा–अध्यक्ष टिबान, सन्तोष न्यौपाने–अध्यक्ष एनटिभिए, विभुचन्द ठाकुर, अध्यक्ष पाटा, अशोक पोखरेल–अध्यक्ष नाटो, श्रीराम सिग्देल–अध्यक्ष नाट्टा च्याप्टर बाँके, दीपकराज जोशी–पूर्वसिइओ, नेपाल पर्यटन बोर्ड, रमेश थापा–उपाध्यक्ष नाट्टा र सुधिरकुमार उपाध्याय, महासचिव नाट्टाको सहभागिता रहेको नाट्टाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय