भरतपुर– गत असोज १ गते काठमाडौं–भरतपुर उडान सुरु गरेको गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा पनि उडान सुरु गरेको छ ।

गुणले यसअघि काठमाडौं–भरतपुर रुटमा दैनिक तीनवटा उडान गर्दै आएको थियो । उक्त एयरलाइन्सका स्टेसन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौंबाट भरिएर आउन थालेको जानकारी दिए । उनले भने, ‘विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको संख्या बढ्दो छ ।’

यसैबीच, चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ ।

एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढेसँगै विमानस्थलमा भीड बढेको हो । भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताए ।

बुद्ध एयरका प्रबन्धक भक्त बस्नेतले पनि महाधिवेशनका लागि विमानस्थलमा चहलपहल बढ्न थालेको जानकारी दिए । उनले भने, ‘काठमाडौंमा दैनिक १० उडान, पोखरा र भैरहवामा दुई उडान गरिरहेका छौं । सबै जहाजमा यात्रु भरिएको छ । यात्रुको संख्या निरन्तर बढिरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय