काठमाडौं– हवाई उडानका इतिहासमा पहिलोपटक एयरबसको एउटा व्यापारिक विमान अन्टार्टिकाको सेतो महाद्विपमा सफलतापूर्वक अवतरण गरेको छ ।

कम्पनीको ए३४० विमान यसै महिनाको सुरुतिर बरफले ढाकेको विमानस्थलमा अवतरण गरेको हो । यसले सधैं बरफ जमिरहने जमिनमा अझ बढी पर्यटक पुर्याउने बाटो खोलेको एजेन्सीहरुले बताएका छन् ।

उक्त ए३४० नोभेम्बर २ को विहान दक्षिण अफ्रिकाको केप टाउन सहरबाट उढेको थियो । उक्त जहाज २५ सय नटिकल माइल (४ हजार ६३० किलोमिटर) यात्रा तय गरी अन्टार्टिका पुगेको थियो ।

उक्त विमानका पाइलट क्याप्टेन कार्लोस मिरपुरीका अनुसार उक्त जहाज ‘ब्लू ग्लेसिकल आइस’को धावनमार्गमा सफलतापूर्वक अवतरण गरेको थियो ।

उक्त ऐतिहासिक उडान बुटिक उड्डयन कम्पनी हाई फ्लाईले सञ्चालन गरेको थियो र वल्फ्स ग्याङ लक्जसी एडभेन्चर क्याम्पले चार्टर गरेको थियो ।

उक्त जहाज यो सिजनमा उक्त महाद्विपमा वैज्ञानिक, कार्गो र सानो संख्याका पर्यटक ओसार्न प्रयोग गरिने बताइएको छ ।

१९० टनको विमान अन्टार्टिकाको धावनमार्गमा पुग्नै लाग्दा ककपिटमा सावधानी र चिन्ता दुवै रहेको प्राप्त समाचारमा उल्लेख छ । क्याप्टेन मिरपुरीले उक्त विमान अवतरणका लागि बरफमाथि विमान अवतरण गराउँदा आवश्यक पर्ने घर्षणका लागि धावनमार्ग कसरी तयार गरिएको थियो भन्ने कुरा विस्तारमा बताएका छन् । त्यसो नगरेको भए भारी तौलको विमान बरफमाथि चिप्लिन सक्थ्यो ।

ध्रुवीय हिउँबाट आउने चमकबाट आँखा जोगाउन पाइलटले विशेष खालको उपकरण प्रयोग गरेको पनि प्राप्त समाचारमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय